माघ ५ जुम्ला
जुम्ला चन्दननाथ नगरपालिका–७ मिचाकी नविना के.सी. नेपाली काँग्रेसले निर्वाचन आयोगमा पेश गरेको बन्द सूचीमा समावेश हुनु भएके छ । नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि महिला खस–आर्य समावेशी समूह अन्तर्गत पेश गरेको बन्द सूचीमा के.सी.को नाम समेटिएको हो । यसैगरी, डोल्पा जिल्लाकी रमादेवी न्यौपाने पनि नेपाली काँग्रेसको बन्द सूचीमा पर्नु भएको छ ।
साविक कर्णाली प्रदेशबाट दुई जना महिलालाई समावेश गर्दै नेपाली काँग्रेसले निर्वाचन आयोगमा बन्द सूची पेश गरेको हो । यसलाई पार्टीले कर्णाली प्रदेशमा महिलाको राजनीतिक सहभागिता बढाउने प्रयासका रूपमा लिइएको छ । ३० वर्षीया नविना के.सी. विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ । विद्यार्थी संगठन मार्फत राजनीति सुरु गर्नु भएकी के.सी. पार्टीका विभिन्न गतिविधि, संगठन विस्तार र अभियानहरूमा निरन्तर सक्रिय रहँदै आएको बताउनु भयो ।
हाल उहाँ नेपाली काँग्रेस जुम्ला जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारीमा रहनु भएको छ । बन्द सूचीमा आफ्नो नाम समावेश भएपछि प्रतिक्रिया दिँदै के.सी.ले पार्टीले आफु जस्ता युवालाई समावेश गर्दै जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नु भयो । पार्टीमा लामो समयदेखि गरेको योगदानको मूल्याङ्कन भएको भन्दै उहाँले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्नु भयो । साथै, आगामी दिनमा पार्टीको नीति, सिद्धान्त र संगठनलाई अझ सुदृढ बनाउन सक्रिय रूपमा लागिरहने प्रतिबद्धता जनाउनु भयो ।
नेपाली काँग्रेसले समावेशी सिद्धान्त अनुसार महिला, युवा तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यसहित बन्द सूची पेश गरेको जनाएको छ । पार्टीका अनुसार कर्णाली प्रदेशमा महिलाको सहभागिता अझ बलियो बनाउँदै राजनीतिक नेतृत्व विकास गर्ने उद्देश्यले यस्तो सूची तयार गरिएको हो । स्थानीय तहदेखि केन्द्रसम्म महिला र युवाको भूमिका बढ्दै गएको सन्दर्भमा के.सी. र न्यौपानेको बन्द सूचीमा समावेशलाई कर्णाली प्रदेशको राजनीतिमा सकारात्मक सन्देशका रूपमा हेरिएको छ ।

