माघ १३ जुम्ला
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जुम्लाबाट एक जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नौ जना पुरुष उम्मेदवारबीच एक मात्र महिला उम्मेदवारका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विनिता कठायत चुनावी मैदानमा उत्रिनु भएको छ । २०७९ सालको निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद रहनु भएकी कठायत अहिले प्रत्यक्ष निर्वाचनका लागि मतदातासँग घरदैलो गर्दै हुनुहुन्छ ।
एकल महिला उम्मेदवार भएकाले उहाँलाई महिला मतदाताबाट विशेष समर्थन र आश्वासन प्राप्त भइरहेको छ । जुम्लामा रास्वपाको राजनीतिक धरातल बलियो नभएपनि चुनाव आफ्नो पक्षमा पार्ने रणनीति सहित कठायत सक्रिय हुनुहुन्छ । माघ १० गते जुम्लामा हिमपात हुँदा समेत उहाँ पातारासी गाउँपालिकामा घरदैलो अभियानमा सहभागी हुनु भएको थियो ।
फिल्मी क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएकी कठायत अहिले जुम्लामा विशेषगरी महिला मतदाताको मत संकलनमा केन्द्रित हुनुहुन्छ । जुम्लाको सिँजा क्षेत्र लगायत धेरै स्थानमा पुरुषहरू व्यापार तथा रोजगारीका लागि जिल्ला बाहिर रहेकाले गाउँमा प्रायः महिला मात्रै बसोबास गर्दै आएका छन् ।
ती महिलासँग आफ्ना चुनावी एजेण्डा प्रस्तुत गर्दै कठायत मत माग्दै हिँडिरहनु भएको छ । यस निर्वाचनमा जुम्लाबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, २०७९ मा २२ हजारभन्दा बढी मत ल्याएर विजयी हुनु भएका राप्रपाका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र), नेकपा माओवादीका विर्ष बहादुर शाही, नेमकिपाका विर्ष रावत, नेपाल जनता पार्टीका रनिल विक्रम शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल तथा तातोपानी गाउँपालिका–३ लिताकोट निवासी भक्त बहादुर रावल (स्वतन्त्र) सहित दश जना उम्मेदवार चुनावी मैदानमा छन् ।
यीमध्ये रास्वपाकी विनिता कठायत बाहेक अन्य कुनै पनि पार्टीबाट महिला उम्मेदवार छैनन् । २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीको गठबन्धनबाट गोमा कुँवर (गौतम) प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनु भएको थियो ।
तर, यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको सहभागिता निकै न्युन देखिएको छ । यस्तै, नेपाली कांग्रेसको खस–आर्य महिला समूहबाट नविना केसी र राप्रपाबाट विमला नेपाली समानुपातिक उम्मेदवारको सूचीमा रहनु भएको छ । एक जना महिला प्रत्यक्ष र दुए जना महिला समानुपातिक उम्मेदवार बाहेक जुम्लाको चुनावी मैदानमा अन्य सबै उम्मेदवार पुरुष नै छन् ।

