जुम्ला । नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य चौकी प्रमुखहरूका लागि ‘विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन’ सम्बन्धी दुईदिने अभिमुखिकरण तालिम जुम्लाको पौवा होटलमा सम्पन्न गरेको छ। कार्यक्रममा नगरपालिका भित्र रहेका विभिन्न स्थानीय तहबाट आएका स्वास्थ्य स्वयंसेविका र चौकी प्रमुखहरूको सक्रिय ३९ जनाको सहभागिता रहेको थियो।

तालिममा सहभागीहरूलाई स्थानीय तहमा बारम्बार देखिने पहिरो, डढेलो, बाढी–डुबान, हावाहुरी, आगलागी, हिमपहिरो जस्ता प्राकृतिक विपद्का प्रकार, जोखिम पहिचानका विधि, समुदायस्तरमा गरिने पूर्वतयारी, आपतकालीन प्रतिकार्य योजना निर्माण, र जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा देखिन सक्ने नयाँ चुनौतीबारे विस्तृत रूपमा जानकारी प्रदान गरिएको थियो।

प्रशिक्षकहरूले जोखिम नक्सांकन , प्राथमिक उपचार सीप, समुदायमा सचेतना र सूचना प्रवाहका प्रभावकारी तरिका, सुरक्षित पानी र सरसफाइका उपाय, तथा सम्भावित संक्रामक रोग फैलावटका जोखिमबारे व्यवहारिक अभ्याससमेत गराएका थिए। सहभागीहरूले समूहगत छलफलमार्फत आफ्ना क्षेत्रका प्रमुख जोखिम पहिचान गरी स्थानीय स्तरमा लागू गर्न सकिने जोखिम न्यूनीकरण योजना पनि तयार पारे।

सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले तालिमले विपद्को जोखिम कम गर्ने तरिका बुझ्न मद्दत गरेको र आपतकालीन अवस्थामा प्रभावकारी भूमिका खेल्न आत्मविश्वास बढाएको बताए। स्वास्थ्य चौकी प्रमुखहरूले पनि तालिमले प्राथमिक स्वास्थ्य सेवामा आपतकालीन तयारी मजबुत बनाउन योगदान पुर्याएको धारणा राखे।
नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाका पदाधिकारीहरूले जलवायु परिवर्तन तथा विपद् जोखिमको प्रभाव बढ्दै गएको भन्दै स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाका प्रमुखहरूलाई समयमै सचेत र सक्षम बनाउनु आवश्यक रहेको टिप्पणी गरे।

सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले तालिमले विपद् हुन नदिन समुदायलाई सचेत गराउनेदेखि आपतकालीन परिस्थितिमा सहयोग गर्न आवश्यक ज्ञान र सीप प्राप्त भएको बताए। स्वास्थ्य चौकी प्रमुखहरूले समेत तालिमले स्थानीय स्तरमा विपद् व्यवस्थापन योजनालाई प्रभावकारी रूपमा लागू गर्न मद्दत पुग्ने जनाए

