जुम्ला
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्ति, जुम्लाले विश्व बन्धुत्व दिवस तथा राज्ययोगिनी दादी प्रकाशमणीको १८औँ पुण्यतिथिको अवसरमा शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो।
प्रतिष्ठान स्थापना भएको डेढ दशकभन्दा बढी भइसके पनि अझै ब्लड बैंक सञ्चालनमा आउन नसक्दा यहाँका नागरिकले बारम्बार रगतको अभाव खेप्नु परेको छ। कहिलेकाहीँ त विरामीका लागि रगत खोज्न सुरक्षाकर्मी र आफन्तहरूले ठूलो कठिनाइ भोग्नुपर्ने अवस्था रहँदै आएको छ। यिनै समस्या समाधानका लागि यो रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयकी सञ्चालिका मिना रानाभाटले बताइन्।
उनले भनिन्, “रक्तदान भनेको जीवन दान हो। विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल–भारतसहित विभिन्न देशमा रक्तदान भइरहेको छ। यो पुण्यको काम हो, सबैले हातेमालो गर्न आवश्यक छ।”

