मानव स्रोत विकासमा ठुलो योगदान
आकास सुनार
कर्णाली प्राविधिक शिक्षालय जुम्लाले आफ्नो ४५ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । २०३७ सालमा स्थापना भएको यस शिक्षालयले प्राविधिक शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ । हाल शिक्षालयमा सिभिल इञ्जिनियरिङ, फार्मेसी, एग्री प्लान्ट साइन्स, फरेष्ट्री र हेल्थ एसिस्टेन्ट (एचए) लगायतका विषयमा अध्ययन भइरहेको छ ।
जुम्लाका साथै अन्य विभिन्न जिल्लाबाट विद्यार्थीहरू यहाँ अध्ययन गर्न आउने गरेका छन् । शिक्षालयका प्रमुख टेकेन्द्र बहादुर थापाले कार्यक्रममा बोल्दै प्राविधिक जनशक्ति उत्पादनमा शिक्षालयको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । साथै, शिक्षालयको थप विकास र गुणस्तरीय शिक्षाका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राख्नु भयो ।
थापाका अनुसार, स्थानीय स्तरमै प्राविधिक शिक्षा दिन सक्नुले कर्णालीको मानव स्रोत विकासमा ठुलो योगदान गरेको बताउनु भयो । अझ गुणस्तरीय शिक्षाका लागि सरकार र सरोकारवालाको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले प्राविधिक धारको शिक्षाले ग्रामीण समुदायको जीवनमा ठुलो परिवर्तन ल्याएको उल्लेख गर्दै शिक्षालयको समुन्नत विकासका लागि सबैलाई अग्रसर हुन आग्रह गर्नुभयो ।
कर्णाली प्राविधिक शिक्षालय केवल एउटा शिक्षण संस्था मात्र नभई, कर्णालीको विकास र समृद्धिको आधार तयार गर्ने आधारशिला बनिरहेको शाहीले बताउनु भयो । कार्यक्रममा चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले नेपालकै पहिलो प्राविधिक शिक्षालयमा स्तरीय शिक्षा सुनिश्चित हुनुपर्ने बताउनु भयो ।
उहाँले राज्यबाट अपेक्षित सहयोग नपाएकोमा चिन्ता व्यक्त गर्दै तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । कर्णाली प्रदेशको शैक्षिक क्षेत्रमा प्राविधिक शिक्षाको जरो गाड्ने पहिलो संस्था कर्णाली प्राविधिक शिक्षालय हो । नेपालको दुर्गम क्षेत्र कर्णालीमा प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको यो शिक्षालय तत्कालीन समयमा निकै दुरदर्शी प्रयासका रूपमा लिइन्छ ।
शुरुआति चरणमा सिमित शैक्षिक कार्यक्रमहरूसँग सुरु भएको शिक्षालयले समयक्रमसँगै आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्दै लिएको छ । प्रारम्भमा कृषि र स्वास्थ्य सम्बन्धी विषयहरू पढाइ हुने यो संस्थाले अहिले तीन वर्षीय डिप्लोमा तहको अध्ययन गराउँदै आएको छ ।
शुरुआती वर्षहरूमा भौतिक पूर्वाधार, जनशक्ति र स्रोतको अभावबीच पनि निरन्तर शिक्षा प्रदान गर्दै आएको शिक्षालय आज कर्णाली प्रदेशमा प्राविधिक शिक्षाको मुख्य आधार विन्दुका रूपमा स्थापित भइसकेको छ । यस शिक्षालयबाट उत्पादित प्राविधिक जनशक्तिहरू विभिन्न संघसंस्था, स्वास्थ्य तथा निर्माण क्षेत्र, वन तथा कृषि क्षेत्रमा कार्यरत छन् ।
जसले कर्णालीको समृद्धिमा योगदान पु¥याइरहेका छन् । कर्णाली प्राविधिक शिक्षालयको इतिहास कर्णालीमै प्राविधिक क्रान्तिको थालनी हो । जुन आज पनि ‘सीपयुक्त शिक्षाको आधार’का रूपमा अगाडि बढिरहेको छ । कर्णाली प्रदेशको दुर्गम भौगोलिक अवस्था, विकासको चुनौती र सीपयुक्त जनशक्तिको अभावका बीच, कर्णाली प्राविधिक शिक्षालय जुम्ला प्रदेशमै प्राविधिक जनशक्ति उत्पादन गर्ने एक प्रमुख केन्द्रका रूपमा स्थापित भएको छ ।
शिक्षालयले ग्रामीण युवा–युवतीहरूलाई रोजगारमुलक शिक्षा दिँदै उनीहरूको जीवनस्तर उस्कान महत्वपूर्ण योगदान पु¥याएको छ । वार्षिकोत्सव अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । जसले समारोहलाई थप रंगीन बनाएको थियो ।

