नौरते नेपाली
कर्णाली प्राविधिक शिक्षालय जुम्ला कर्णाली प्रदेशको एक मात्र अग्रणी प्राविधिक शिक्षालय हो । जहाँ कृषि, वन, निर्माण तथा सीपमुलक शिक्षाका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
कर्णाली क्षेत्रको भौगोलिक, आर्थिक तथा सामाजिक वास्तविकतालाई ध्यानमा राख्दै यहाँको युवाशक्तिलाई सीपयुक्त बनाउने उद्देश्यले यो शिक्षालय स्थापना गरिएको हो । यो शिक्षालमा अध्ययन गर्नु भएका जुम्ला चन्दननाथ नगरपालिका–६ छिनागाउँका टेकेन्द्र वहादुर थापाले दुई कार्यकाल शिक्षालयको प्रमुखको जिम्मेवारी सम्हाल्नु भयो ।
आफुले अध्ययन गरेको शिक्षालयमा प्रमुख भएर काम गर्ने अवसर जो कोहि व्यक्तिलाई सजिलै मिल्दैन । तर, थापाले सुवर्ण अवसर पाउनु भयो । धेरै संस्थामा नेतृत्व फेरबदल हुन्छ । तर संस्थाको स्वरूप नै परिवर्तन गर्ने नेतृत्व दुर्लभ छ । कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र बहादुर थापाको दोस्रो कार्यकाल त्यो दुर्लभ नेतृत्वका उदाहरणमध्ये एक बन्न पुगेको छ ।
थापाको बिहानी निरीक्षण, दिनभरको व्यवस्थापन र भविष्यका योजनामा डुबेको व्यस्त दिनचर्या कसैले देख्ला नदेख्ला । तर त्यही समयले शिक्षालयको मुहार नै बदल्दै लगेको छ ।
पुराना भवनको नयाँ जीवन
२०३७ सालमा बनेका शिक्षालयका भवनहरू जीर्ण हुँदै थिए । वर्षा, चर्काेघाम, चिरा परेका भित्ताहरू र चुहिने कक्षा कोठाहरूले विद्यार्थीको सिकाइ वातावरण प्रभावित भएको थियो । थापाको पहलकदमीमा ८० प्रतिशत पुराना भवनको मर्मत सम्पन्न भएको छ । अब यिनै भवनहरू अर्को २० वर्षसम्म उपयोग योग्य रहने प्राविधिक मूल्याङ्कन छ । बाँकी २० प्रतिशत भवन अझै सुधारको प्रतिक्षामा भए पनि रकम अभावले मर्मत हुन सकेका छैन् ।
सडक अफ्ठ्यारो, शिक्षा सजिलो
शिक्षालयसम्म पुग्नुपर्छ भने कठिन उकालो, माटो र धुलोले विद्यार्थी तथा कर्मचारी दुवैलाई हैरान बनाइ रहेको थियो । थापाको कार्यकालमै चन्दननाथ नगरपालिकाको सहयोगमा करिब ४ करोडको लागतमा पक्की सडक शिक्षालयको उकालो मुखसम्म विस्तार भएको छ । अहिले विद्यार्थी, अभिभावक र अतिथिहरू सबै सहजै शिक्षालय पुग्न सक्ने भएका छन् । पूर्वाधार कति महत्वपूर्ण छ भन्ने कुरा अब आएपछि मात्र धेरैले महसुस गर्न थालेका छन् ।
प्रयोग विहीन जग्गा प्रयोगमा
३५ वर्षदेखि प्रयोग विहीन अवस्थामा रहेको प्राविधिक शिक्षालयको जग्गा वनभोज र डेटिङ स्थलका रुपमा परिणत भएको थियो । तर, अब त्यही ठाउँमा इन्जिनियरिङ प्रयोगशाला भवन निर्माण भएको छ । “प्रयोगात्मक शिक्षाका लागि प्रयोगशाला अनिवार्य हो,” थापा प्रायः भन्नु हुन्थ्यो, आज त्यो विश्वास ठोस संरचनाको रूपमा उभिएको छ । यसले गर्दा इन्जिनियरमा अध्ययनतर विद्यार्थीको पढाईमा गुणात्मक परिवर्तन आउने छ ।
३२ वर्षपछि स्नान गृहमा सञ्चालन
एक समय विद्यार्थीका लागि सबैभन्दा ठुलो समस्या पानी र सरसफाई थियो । भएका शौचालय पनि प्रयोग विहीन अवस्थामा थिए । तर, टेकेन्द्र वहादुर थापाको दोस्रो कार्यलको नेतृत्व र अग्रसरताले करिब ३२ वर्ष पहिलेबाट प्रयोग विहीन स्नानगृह पुनः सञ्चालन भएको छ । कर्णाली प्राविधिक शिक्षालयको स्रोतबाट स्नानगृह सञ्चालन भएको हो । विशेषगरी चिसो मौसममा नुहाउने ठाउँ नै नहुनु, छात्राहरूका लागि अझ बढी समस्या थियो ।
महिनारी भएका बेला नुहाउनका लागि समस्या भोग्नु परेका छात्राका लागि सहज भएको छ । ३२ वर्ष पुरानो जर्जर स्नानगृहलाई थापाले पूर्ण मर्मत गरेर पुनः सञ्चालनमा ल्याउनु भएको छ । अब विद्यार्थीहरूले सजिलै नुहाउन, कपडा धुन र महिनावारीका दिनमा स्वच्छ रूपमा सरसफाई गर्न सक्ने भएका छन् । यो परिवर्तन सानो देखिए पनि विद्यार्थी जीवनका लागि अत्यन्त महत्वपूर्ण छ ।
कम्प्युटरदेखि कृषि उपकरणसम्म
थापाको नेतृत्वमा सीप विकास परियोजनाबाट शिक्षालयमा ठुलो सहयोग भएको छ । कम्प्युटर ल्याब स्थापना, लाखौँ मूल्यका कृषि उपकरण र करिब १ करोड बराबरका नयाँ कृषि उपकरणले विद्यार्थीहरूलाई सहज रुपमा प्राक्टिकल गर्न पाएका छन् ।
सिटिईभिटिबाट प्राप्त सामग्री र बढ्दै सुविधा
शिक्षालयका पुराना डेस्क, बेन्च र टेबलले सिकाइको गतिलाई कमजोर बनाइरहेको बेला सिटिईभिटिबाट प्राप्त ६ वटा कक्षाकोठामा उपलब्ध भएको सामग्रीले पढाईको वातावरणलाई सहज बनाएको छ । विद्यार्थी डेस्क र बेन्च अभाव भन्दा सिकाइमा केन्द्रित हुन पाएका छन् । पहिलो बस्ने डेस्क र बेन्च अभावमा विद्यार्थी ढुङ्गा राखेर बस्नु पर्ने बाध्यता थियो । अहिले हटेको छ ।
कोठा खोज्दै हिँड्नु पर्दैन
वर्षौंदेखि छात्रावासको अभाव शिक्षालयको प्रमुख समस्या थियो । थापाले महिला र पुरुष छात्रावास निर्माण प्रक्रियालाई अगाडि बढाउनु भएको छ । निर्माण सम्पन्न भएपछि कर्णालीका दुर्गम गाउँबाट आउने विद्यार्थीले बसोबासका समस्याले पढाइ प्रभावित गर्नुपर्ने परिस्थिति अन्त्य हुने छ ।
टेकेन्द्र बहादुर थापाको नामसँग विज्ञापन, हल्ला वा ठुलो प्रचार जोडिदैन । तर शिक्षालयका पूर्वाधारदेखि सेवासुविधासम्म भएका परिवर्तनहरूले थापाको नेतृत्वलाई आफैँ बोल्ने बनाइ दिएका छन् । उहाँको नेतृत्वमा कर्णाली प्राविधिक शिक्षालयले प्राप्त गरेको रूपान्तरण केवल भौतिक पूर्वाधारमा सीमित छैनन् । यो शिक्षालयको भविष्य निर्माणको आधार बनिरहेको छ । थापाले शिक्षालयको भौतिक पूर्वाधार तथा शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण काम गर्नु भएको छ ।

