साउन २८ जुम्ला
विद्यार्थी संख्या अनुसारको शौचालय नहुँदा विद्यार्थीहरुलाई कठिनाई भइरहेको छ । जुम्लाको चन्दननाथ नगरपािलकामा रहेको चन्दननाथ माध्यामिक विद्यालयमा यस्तो समस्या देखिएको हो । अहिले विद्यालयमा १ हजार ८ सया जनाको हाराहारीमा विद्यार्थी संख्या भएपनि आवश्यकता अनुसारको शौचालय नहुँदा लाइनमा बस्नु पर्ने बाध्यातका कारण पढाईमा समेत बाधा पुगिरहेको कक्षा १० मा अध्ययनरत छात्रा सुजता काफ्लेले बताउनु भयो ।
उहाँका अनुसार सबै भन्दा बढी छात्राहरुलाई महिनावारी भएको समयमा शौचालय प्रयोगमा समस्या हुने गरेको छ । शौचालय अभावका कारण बिचमा पढाईलाई छुटाउनु पर्ने समस्या भोग्न परिरहेको विद्यालयका अर्का छात्र उज्वल उपाध्यायले बताउनु भयो । उहाँले पहिला भएको शौचालय भत्काईएको र नयाँ शौचालय बनिनसकेको हुनाले अहिले समस्या भोक्न परेको छ । विद्यालयमा आउँदा पढाई भन्दा पनि शौचालयमा कसरी पालो पाइएला भन्ने चिन्ता हुने गरेको छ ।
यस्तै कक्षा १० मा अध्ययनरत अर्की छात्रा अनुपा शाहीले विद्यालयको शौचालयमा पानी पनि नहुँदा प्रयोगमा समस्या भइरहेको छ । उहाँले शौचालयमा लामो लाइनमा बसेर पालो कुर्नु पर्छ, त्यति गर्दा पनि शौचालयमा पानीको अभाव तथा छात्राहरुले महिनावारी भएको समयमा प्रयोग गरिएका स्यानीटरी प्याड व्यवस्थापन नगरेको हुनाले शौचालयमा धेरै दुर्घन्ध भइरहेको छ । त्यसले गर्दा अन्य सरुवा रोगको शिकार भइने हो कि भन्ने चिन्ता समेत लाग्ने गरेको उहाँको भनाइ छ ।
यस्तै अर्का छात्र रमित सुनारले पनि शौचालयकै समस्या भएको हुनाले विद्यालयमा आउन मन नलाग्ने गरेको बताउनु भयो । शौचालयमा पालो कुर्दै गर्दा बिचमा पढाइ समेत छुट्ने गरेको उहाँको भनाइ छ । यता चन्ददनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले विद्यालयमा शौचालयको समस्या सही भएको हुनाले यसलाई समाधान गर्नको लागि सम्बन्धीत निकायमा पहल भइरहेको बताउनु भयो ।
शिक्षकहरुको लागि बनाईएको ५ वटा शौचालयमा काम चलाइ रहेको भएपनि विद्यार्थी संख्याको आधारमा शौचालय अभाव रहेको छ । नयाँ शौचालय निर्माण कार्य अगाडी बढे पनि समयमा निर्माण सम्पन्न नहुँदा समस्या भएको उहाँले जानकारी दिनु भयो । यसको लागि पटक पटक विद्यालयको भवन तथा शौचालय निर्माणको जिम्मा लिएको सघन शहरी विकास तथा भवन निर्माण आयोजनामा पत्राचार गरिसकेको बताउनु भयो ।
अबको दुई हप्तामा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले निर्माण नगरेपछि वैकल्पीक उपायको खोजी गरिने महतले उल्लेख गर्नुभयो ।

