आकास सुनार
साउन ९ जुम्ला
कर्णाली राजमार्ग अन्तर्गत जुम्ला ट्राफिक प्रहरी कार्यालय नजिकै गरिएको कालोपत्रे उप्किएको छ । सडक डिभिजन कार्यालय जुम्लाले गरेको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले उप्काएका छन् । हालै गरिएको कालोपत्रे सडक सतहबाट छुट्टिएर हातैले समेत उप्काउन सकिने अवस्थामा पुगेको छ ।
यो त खेलौना जस्तो बनेको छ, हामीले हातैले निकाल्यौँ, एक स्थानीय विवेन्द्र नेपालीले बताउनु भयो । पिच गरेको एक हप्तामै उप्किनु अच्चम भएको उहाँको भनाइ छ । कार्यालयको अनुगमन र सुपरीवेक्षणमा कमजोरी देखिएको छ । पिरियोडिक मर्मतको नाममा खर्चिएको सार्वजनिक रकमको दुरुपयोग भएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् ।
सडक डिभिजन कार्यालयका इन्जिनियर सौरव सिंहले प्रारम्भिक रुपमा कार्यालयको कमजोरी रहेको बताउनु भयो । पुरानो पिचमा बेस राम्रो नभएकाले हाल गरिएको पिरियोडिक मर्मत अन्तर्गतको कालोपत्र उप्किएको हो । पुरोनो पिच माथि नयाँ कालोपत्रे गरिएको उहाँको भनाइ छ ।
पानी परेको र चिसोमा पहिले गरेको पिचमा कालोपत्रे गरिएकाले उप्किएको उहाँले स्वीकार गर्नु भएको छ । यता उज्वल सानदार जेभीका दिपक न्यौपानेले अन्य ठाउँमा गरिएको कालोपत्रेमा समस्या नरहेको बताउनु भयो । पिरियोडिक मर्मत अन्तर्गत ट्राफिक प्रहरी कार्यालय नजिकै गरिएको कालोपत्रे उप्किएको हो । यसलाई स्वीकार गछौँ ।
प्राविधिक कमजोरीले गर्दा समस्या आएको र उक्त ठाउँमा पुन कालोपत्रे गरिने न्यौपानेले बताउनु भयो । सडक डिभिजन कार्यालय जुम्लाले २०८१ पुष २९ गते जुम्ला बजारदेखि नाग्म सम्मको सडक खण्डमा ३० किलोमिटर मध्ये साढे २२ किलोमिटर पिचमाथि पिच गर्ने र साढे ६ किलोमिटर सडकमा नयाँ पिच गर्नको लागि उज्वल सानदार जेभी सम्झौता गरेको थियो ।
उक्त ठेक्काको अवधि २०८१ असार २५ गते सम्म कायम गरिएकोमा निर्धारित समयमा निर्माण व्यवसायीले काम गर्न नसक्दा आउने असोज २९ गतेसम्म पुन म्याद थप गरिएको छ । साढे २२ किलोमिटर पिचमाथि पिच गर्ने र साढे ६ किलोमिटर सडक नयाँ पिच गर्नको लागि कार्यालयले १० करोड रकम खर्चिने भएको छ ।
हाल २१ किलोमिटर सडक पिचमाथि पिच गरिएको छ । सडकको वित्तिय प्रगति ८४ प्रतिशत भएको छ । नागरिकले यस्ता गुणस्तरहिन कामबाट राज्यको सम्पत्ति र जनताको विश्वास दुबै गुम्ने खतरा रहेको बताएका छन् । ठेकेदार कम्पनीले गुणस्तरमा ध्यान नदिँदा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।
नागरिकले सार्वजनिक बजेटको दुरुपयोग भएको भन्दै छानबिनको माग गरेका छन् । यसै विषयमा जुम्लाका राजनीतिक दलहरूले जिल्ला प्रशासन कार्यालयमा हालै कालोपत्रे गरिएका सडकहरूको गुणस्तर प्रति चासो व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । निर्माण कम्पनीले गरिरहेको उक्त काम तत्कालका लागि रोक्न निर्देशन समेत दिइएको छ ।

