माघ १७ जुम्ला
नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्तिलाल महत चुनाव प्रचारका लागि सिँजा क्षेत्रमा पुग्नु भएको छ । उहाँले सिँजा क्षेत्र अन्तर्गतका तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा पालिका स्तरीय भेलामार्फत चुनाव प्रचार गरिरहनु भएको छ । चुनावी प्रचारका क्रममा उम्मेदवार महतले सिँजा क्षेत्रका लागि व्यवस्थित अस्पताल स्थापना गर्ने प्रमुख चुनावी मुद्दा अघि सार्नु भएको छ ।
सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका स्थानीय नागरिकले स्वास्थ्य उपचारका लागि करिब ६ घण्टा यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सिँजा क्षेत्रमै पायक पर्ने स्थानमा व्यवस्थित अस्पताल स्थापना गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो । घर आँगनमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार भएको उल्लेख गर्दै महतले जनताको मत संकलनका लागि मात्र अस्पतालको कुरा अघि नसारेको बताउनु भयो ।
उहाँले जनताको वास्तविक आवश्यकतालाई आधार मानेर यो एजेण्डा अघि सारिएको अवगत गराउनु भयो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएमा सिँजा क्षेत्रमै व्यवस्थित अस्पताल स्थापना गरेर देखाउने उहाँको भनाइ छ । उम्मेदवार महतले सिँजा क्षेत्रका चार वटै स्थानीय तहमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरि रहनु भएको छ ।
साथै, सिँजा क्षेत्र नेपाली भाषाको उद्गम स्थल तथा खस भाषाको जननी भएकाले भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि विशेष पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो । सिँजामा रहेको सिँजा क्याम्पसलाई कर्णाली प्रदेशकै खस भाषा, साहित्य र संस्कृतिको अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै मुल क्याम्पसका रूपमा स्थापित गर्ने योजना रहेको महतले बताउनु भयो ।
उहाँले यो सबै चुनावी प्रचारका लागि मात्रै गरेको छैन् । चुनाव जितेपछि कार्यान्वयन गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न सिँजा क्षेत्रका नागरिकलाई अनुरोध गर्दै महतले सिँजा क्षेत्र जुम्लाको पहिचानसँग गहिरो रूपमा जोडिएको क्षेत्र भएको बताउनु भयो ।
खस राज्यको ऐतिहासिक दरबार रहेको यस क्षेत्रको विकास नेकपा एमालेले गर्ने उहाँको दाबी छ । चुनावी मैदानमा रहेका अन्य उम्मेदवारभन्दा फरक ढंगले काम गर्ने दाबी गर्दै महतले धेरै बोल्ने भन्दा पनि जनताको समस्या समाधान गर्ने क्षमता आफुसँग रहेको बताउनु भयो । जनतालाई भ्रम पार्ने र भुलाउने राजनीति आफुबाट नहुने स्पष्ट पार्दै, चुनावमा मत संकलन मात्र नभई दीर्घकालीन विकास नै आफ्नो मुख्य उद्देश्य भएको उहाँको भनाइ छ ।

