पुस २५ जुम्ला
तातोपानी गाउँपालिका जुम्लाले वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्री जुम्ली पुत्र माधव प्रसाद चौलागाईलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जुम्लाको समग्र विकाससँग जोडिएका गम्भीर विषयहरूमा ध्यानाकर्षण गराएको छ । पुस २५ गते ललितपुरको जावलाखेलस्थित मन्त्री निवासमा भएको भेटघाट तथा छलफलमा जुम्लाका स्याउ उत्पादक किसानले भोग्दै आएका बीमा समस्यादेखि भौतिक पूर्वाधार र पर्यटन विकासका महत्वपूर्ण सवालहरू प्राथमिकताका साथ उठाइएका हुन् ।
भेटलाई जुम्लाको आवाज केन्द्र सरकारसम्म पु¥याउने अवसरका रूपमा लिइएको छ । छलफलमा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले आर्थिक वर्ष २०८०÷०८१ मा शिखर इन्स्योरेन्स कम्पनीसँग गरिएको स्याउ बीमाको दाबी भुक्तानीमा भएको ढिलाइ र अव्यवस्थित तथा अन्यायपूर्ण मूल्यांकनका कारण किसानहरू गम्भीर समस्यामा परेको जानकारी गराउनु भयो । स्याउ जुम्लाको पहिचान मात्रै नभई किसानको मुख्य जीवनाधारसमेत भएको उल्लेख गर्दै उहाँले बीमा दाबीको अन्यायले किसान निराश भएको बताउनु भयो ।
मन्त्री माधव प्रसाद चौलागाईंले जुम्ला आफ्नो जन्मभूमि भएकाले जिल्लाको विकासप्रति आफु भावनात्मक र जिम्मेवार दुवै रहेको स्पष्ट पार्नुभयो । उहाँले स्याउ बीमा समस्यालाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानतर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । त्यसैगरी तातोपानी गाउँपालिका–४ का वडा अध्यक्ष अमर रोकायाले हाँकु–तिला नदी पक्की पुल, ताम्ती–टोप्ला–जाजरकोट सडक निर्माण, गिडीदह पर्यटकीय क्षेत्रको विकास, औद्योगिक ग्राम सञ्चालन, तातोपानी धारालाई पर्यटनमैत्री बनाउने तथा जुम्लामा चिडियाखाना स्थापना जस्ता योजनामा पर्याप्त बजेट सुनिश्चित गर्न आग्रह गर्नु भएको छ ।
छलफलले जुम्लाको विकासमा नयाँ आशा जगाएको स्थानीयको भनाइ छ । अब प्रतिबद्धता कार्यान्वयनमा परिणत हुने अपेक्षा गरिएको छ ।

