जुम्ला । स्याउ विमाको भुक्तानीमा लगातार ढिलाइ भएको आरोपमा जुम्लास्थित शिखर इन्स्योरेन्स कम्पनीमा किसानहरूले पुनः तालाबन्दी गरेका छन्।
कर्णालीका विभिन्न गाउँपालिकाबाट आएका किसानहरूले शुक्रबार बिहान कम्पनीको कार्यालयमा पुगेर तालाबन्दी गरेका हुन्। उनीहरूले “विमा रकम तत्काल देऊ”, “किसानको हक सुनिश्चित गर” भन्ने नारासहित प्रदर्शनसमेत गरेका थिए।
किसानहरूको भनाइअनुसार गत वर्ष स्याउ उत्पादनमा आएको असिना र हावाहुरीका कारण ठूलो क्षति भए पनि इन्स्योरेन्स कम्पनीले अहिलेसम्म क्षतिपूर्ति रकम वितरण गरेको छैन। किसानले पटक–पटक कार्यालय धाएका भए पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ।
तालाबन्दीपछि स्थानीय प्रशासन र सुरक्षा निकायले घटनास्थल पुगेर किसानहरूलाई शान्त गर्न प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
यसअघि पनि सोही विषयमा किसानहरूले उक्त कम्पनीमा तालाबन्दी गरेका थिए तर समाधानको आश्वासनपछि ताला खुलेको थियो। तर पुनः ढिलाइ भएपछि उनीहरू आक्रोशित भएका छन्।

