साउन ३० जुम्ला
जुम्लाको तातोपानी गाउँपालिकामा किसान र उद्यमीलाई वित्तीय संस्था तथा बजारसँग जोड्न पहल गरिएको छ । किर्डाक नेपाल तातोपानीको आयोजनामा गाउँपालिका भित्रका किसान, उद्यमी र वित्तीय संस्थाका प्रमुखलाई एकै ठाउँमा भेला गराई उद्यम गर्न इच्छुकलाई सहुलियत ऋण उपलब्ध गराउने विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा हरित उद्यमशिलता प्रवद्र्धन, लगानीका अवसर, बजार पहुँच र सहुलियत ऋण प्रक्रियाका बारेमा जानकारी आदानप्रदान गरिएको छ । उद्यम गर्न इच्छुक किसानलाई न्युनतम ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउन सकिने वित्तीय संस्थाका प्रतिनिधिहरूले बताएका छन् । साथै, किसानले उत्पादन गरेका कृषिवस्तु प्रशोधन गरी बजारसम्म पु¥याउन आवश्यक उपकरण, प्रविधि तथा उत्पादनमा सहयोग उपलब्ध गराउन सकिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
कार्यक्रमको अवसरमा तातोपानी गाउँपालिका–२ सुन्दरगाउँलाई जलवायु न्याय गाउँ बनाउने तयारी रहेको किर्डाक नेपाल तातोपानीका जलवायु विज्ञ दिपेश आचार्यले जानकारी गराउनु भयो । जलवायु परिवर्तनका असर न्युनिकरण गर्नको लागि जलवायु न्याय गाउँका घोषणा गर्न खोजिएको हो । सहयात्रा तेस्रोत परियोजनाले जोखिममा रहेका बालबालिकाका क्षेत्र अन्तर्गत बाल अधिकार शासन, बाल संरक्षण, शिक्षा र जलवायु परिर्वतनमा काम गरि रहेको छ ।
तातेपानीका २८ वटा गाउँ जलवायुको जोखिम अवस्था रहेका छन् । ४० वटा व्यवसायलाई हरित रोजगारमा जोड्न खोजिएको आचार्यले बताउनु भयो । हरित विद्यालय निर्माण र जलवायु न्याय गाउँको प्रवद्र्धन गर्ने परियोजनाको उद्देश्य हो । किसानलाई जलवायु स्मार्ट खेतिका विषयमा तालीम प्रदान समेत गरिएको छ । तातोपानी गाउँपालिका भित्रका ४० जनाले लघु उद्यम तालीम पश्चात व्यवसायमा जोडिएको आचार्यले उल्लेख गर्नु भयो ।
तातोपानी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत अंगराज डाँगीले उद्यमशिल बन्न अनुरोध गर्नु भएको छ । किसानले उत्पादन गरेका कृषिवस्तुको बजारीकरणका लागि गाउँपालिकाले समन्वय गरि दिन सक्ने उहाँको भनाइ छ । यस्तै काब गाउँपालिका अध्यक्ष गोकर्ण रावलले किसानहरुलाई वित्तीय संस्थासँग सहुलियतमा ऋण दिने वातावरण तय गर्न सकिने बताउनु भयो ।
गुणस्तरीय र बजारको मागमा आधारित उत्पादन गर्न उहाँले किसानहरुलाई सुझाव दिनु भएको छ । तातोपानी–१ का किसान परान धरालाले बजारको मागका आधारमा तरकारी उत्पादन गरि रहेको बताउनु भयो । दुई महिनामा जुम्ला बजारमा करिब २० लाखको टमाटर विक्रि हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, जुम्ला बजारमा हाल मैले उत्पादन गरेका तितेकरेलीले बजार लिएको छ । यस पछि जुम्ला बजारलाई पुग्ने टमाटर उत्पादन हुने तयारीमा रहेको उहाँले उल्लेख गर्नुभयो ।
सहयात्रा तेस्रो परियोजना अन्तर्गत सेभ द चिल्ड्रेनको सहयोग, किर्डाक नेपाल तातोपाानीको सहजीकरण र तातोपानी गाउँपालिका जुम्लाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागि किसानहरुले उत्पादन गरेका कृषिवस्तुको बजारीकरणमा समस्या भएको बताएका छन् ।

