जुम्ला । हिमा गाउँपालिकामा हाल अधिकांश घरधुरीसम्म खानेपानी सेवा पुगेको तथ्यांकले देखाएको छ। गाउँपालिकाभर ‘एक घर, एक धारा’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएपछि स्थानीयवासीले घरमै स्वच्छ पानी पाउन थालेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार गाउँपालिकाका करिब २३ सय २ घरधुरीमध्ये ८० प्रतिशत घरमा खानेपानीको सुविधा विस्तार भइसकेको छ। सरकारको लक्ष्यअनुसार विभिन्न योजनाबाट धारा जडान गरी समग्र पहुँच वृद्धिमा जोर दिइएको उनको भनाइ छ।
खानेपानी विस्तारमा ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना’ले महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए। स्वच्छ पानी उपलब्ध भएपछि स्थानीयहरूको स्वास्थ्य, सरसफाइ र दैनन्दिन जीवनस्तरमा सकारात्मक परिवर्तन देखिने अपेक्षा गरिएको उनले उल्लेख गरे।
गत वर्ष सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमार्फत ९७१ जनाले उपचार सेवा लिएका छन्। त्यस्तै सामाजिक सुरक्षा भत्ता अब बैंकमार्फत वितरण हुँदै आएको छ भने ‘छोरीको सुरक्षा–जीवनभरि’ कार्यक्रमअन्तर्गत ५६ जना बालिकाका बैंक खाता खोलिएका छन्। ज्येष्ठ नागरिकलाई प्रदान गरिने वृद्धभत्ता सेवामा ४८८ जनाले लाभ लिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए।
गाउँपालिकाले गत आर्थिक वर्षमा करिब २६ लाख ४३ हजार आन्तरिक राजस्व संकलन गरेको छ। सोही वर्षमा विभिन्न शीर्षकका १०८ वटा पूर्वाधार तथा विकास योजना सम्पन्न गरी सञ्चालनमा आइसकेको गाउँपालिकाले जानकारी दिएको छ।

