फागुन १३ जुम्ला
जयरत्न कर्णाली बोर्डिङ स्कुल जुम्लाले विद्यालय स्तरीय च्याम्पियन कप प्रतियोगिताको सुरुवात गरेको छ । विद्यालय भित्रका इनहाउस (सदन) बीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुने जनाइएको छ । विद्यालय स्तरीय च्याम्पियन कपको उद्घाटन धावक हरी बहादुर रोकायले गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयस्तरबाट सञ्चालन भइरहेका खेलकुद गतिविधिको प्रशंसा गर्नुभयो । विद्यालयस्तरका यस्ता प्रतियोगिताले विद्यार्थीमा खेलप्रति रुचि जागृत गराउने उहाँको भनाइ छ । खेलकै माध्यमबाट आफु स्थापित भएको अनुभव सुनाउँदै रोकायले आगामी दिनमा पनि यस्ता रचनात्मक क्रियाकलापलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
प्रतियोगितामा दौड, हाई जम्प, सटपुट, नृत्य, सोलो साइकल रेस र क्रिकेट लगायतका विधा समावेश गरिएको विद्यालयका प्रिन्सिपल अमरनाथ योगीले जानकारी दिनुभयो । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने उद्देश्यले च्याम्पियन कप आयोजना गरिएको उहाँको भनाइ छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत चारवटा सदनका विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका छन् । विद्यालयले खेलकुदमार्फत अनुशासन, नेतृत्व विकास र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ ।

