चीन सरकारले नेपालमा हुन लागेको आसन्न निर्वाचनको व्यवस्थापनका लागि ४० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। उक्त रकम अनुदानस्वरूप प्रदान गरिनेछ र यसलाई स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार सहयोग रकम निर्वाचनसँग सम्बन्धित प्राविधिक व्यवस्थापन, सामग्री खरिद, जनशक्ति परिचालन तथा अन्य आवश्यक तयारीमा उपयोग गरिनेछ । सरकारले यस सहयोगलाई पारदर्शी र प्रभावकारी रूपमा खर्च गर्ने प्रतिबद्धता जनाएको छ l
यसैगरी, मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार बूढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनका लागि प्रस्तावित वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ । उक्त आयोजना राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइँदै आएको छ र ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा महत्वपूर्ण मानिन्छ ।
सरकारले निर्वाचनको निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित सम्पन्नताका लागि आवश्यक सबै तयारीलाई तीव्रता दिने जनाएको छ भने बूढीगण्डकी आयोजनाको लगानी ढाँचा स्वीकृतिसँगै परियोजनाको कार्यान्वयन प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ ।
