वैशाख १० जुम्ला
जुम्ला बजारमा रहेका होटलहरूको खाद्य स्वच्छता तथा गुणस्तर मूल्याङ्कन गर्दा तीन वटा होटल मात्रै सन्तोषजनक अवस्थामा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपाने नेतृत्वको टोलीले गरेको अनुगमनमा समग्रमा होटलहरूको गुणस्तर अघिल्लो वर्षको तुलनामा घटेको देखिएको हो । अनुगमनमा स्टे होटल भ्यालि भ्यु, होटल पौवा हस्पिटालिटी र होटल दौतरी सन्तोषजनक श्रेणीमा परेका छन् ।
स्टे होटल भ्यालि भ्यु र होटल पौवा हस्पिटालिटीले २०८० सालको मूल्याङ्कनमा दुई/दुई स्टार प्राप्त गर्दै उत्तम श्रेणीमा स्थान बनाएका थिए । तर यसपटक दुवै होटल एक/एक स्टारमा झर्दै सन्तोषजनक अवस्थामा सीमित भएका छन् । होटल दौतरी भने एक स्टारसहित सन्तोषजनक श्रेणीमै कायम रहेको छ । ५० वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा १०० पूर्णाङ्कमध्ये ६५ देखि ७९ अंक ल्याउने होटललाई सन्तोषजनक मानिन्छ ।
८० देखि ८९ अंक प्राप्त गर्ने उत्तम तथा ९० भन्दा माथि अंक ल्याउने अति उत्तम श्रेणीमा पर्छन् । ५९ देखि ६४ अंकसम्म सामान्य र ५० भन्दा कम अंक ल्याउने होटल मापदण्ड भन्दा बाहिर पर्ने उल्लेख गरिएको छ । अनुगमनका क्रममा द रोयल कर्णाली प्याराडाईज इन प्रा.लि., मानसरोबर र होटल कान्जिरोवा लगायत अन्य होटलहरूले भने आवश्यक मापदण्ड पुरा गर्न नसकेको पाइएको छ ।
ती होटलहरूलाई गुणस्तर सुधार गर्न सुझाव दिइएको अनुगमन टोलीले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य अनुसन्धान अधिकृत कपिल सुवेदीले जुम्लामा होटल तथा रेष्टुरेन्टहरूको सेवा र स्वच्छता स्तर सुधार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले होटल व्यवसायीहरूले खाद्य स्वच्छता सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख सुवास तिमिल्सिनाले होटलहरूको वास्तविक अवस्था पहिचान गर्न र सुधारका लागि मार्ग निर्देशन दिन स्तरीयकरण गरिएको जानकारी दिनुभयो । जसले गर्दा व्यवसायीहरूले आफ्नो सेवा सुधारका लागि स्पष्ट आधार पाउने अपेक्षा गरिएको छ ।
स्तरीयकरण कार्यक्रममा क्षेत्रीय होटल संघ जुम्ला, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अनुगमन टोलीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष होटलहरूको समग्र गुणस्तरमा गिरावट आएको देखिएको छ । विशेषगरी सरसफाइ, भान्सा व्यवस्थापन, खाद्य पदार्थको सुरक्षित भण्डारण, कर्मचारीहरूको व्यक्तिगत स्वच्छता तथा सेवा प्रवाहमा कमजोरी देखिएको उल्लेख गरिएको छ ।
अनुगमनका क्रममा द रोयल कर्णाली प्याराडाईज इन प्रा.लि., मानसरोबर र होटल कान्जिरोवा लगायतका होटलहरूमा समेत सुधारको खाँचो देखिएको छ । ती होटलहरूले तोकिएको मापदण्ड पुरा गर्न नसकेको भन्दै अनुगमन टोलीले आवश्यक सुधारका लागि सुझाव दिएको छ ।

