फागुन ११ जुम्ला ।
जुम्लामा निर्वाचन लक्षित सर्वदलिय छलफल गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सभ्य, शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सर्वदलिय छलफल गरिएको हो । छलफलमा सहभागी सरोकारवालाले जुम्लामा निर्वाचन आचारसंहिता पालनामा हुन नसकेकाले कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले निर्वाचनमा बालबालिकाको प्रयोग भईरहेको, जनप्रतिनिधि आफ्नै पालिकामा प्रचारमा गईरहेको भएपनि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले सुक्ष्म अनुगमन नगरेको गुनासो व्यक्त गर्नुभयो ।
फागुन ४ गते अघि २५ जना भन्दा बढी भेला हुन नपाउने, सडक जाम गरेर चुनावी गतिविधि गर्ने, बालबालिकाको प्रयोग गर्ने लगायतका आचारसंहिता विपरितका कार्य हुँदा प्रहरी प्रशासन तथा मुख्यनिर्वाचन अधिकृतको कार्यालयले बोल्न नसकेको उल्लेख गर्नुभयो । निर्वाचन शिक्षालाई प्रभावकारी बनाउने, आचारसंहिता पालनामा बेवास्ता गर्ने दलहरुलाई स्पष्टीकरण समेत नसोधेर छुट दिइएको उहाँको भनाइ छ ।
स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारीको दुरुपयोग गरी निर्वाचन प्रचारमा गईरहेकाले तत्काल रोक्नु पर्नेमा जोड दिनुभयो । जिल्ला न्यायाधिश तथा मुख्यनिर्वाचन अधिकृत आनन्दराज पन्तले हालसम्म निर्वाचन आचारसंहिता पालनाको अबस्था सन्तोषजनक रहेको बताउनु भयो । यदपी हाल सम्म औपचारिक लिखित उजुरी नआएका कारण दलहरुलाई स्पष्टीकरण नसोधे पनि मौखिक ध्यानर्कषण गराइएको जानकारी दिनुभयो ।
निर्वाचन आचारसंहित पालानाबारे हालसम्म तीन पटक सर्वदलिय छलफल तथा अन्तरक्रिया भईसकेकाले अब पनि आचारसंहिता विपरित गतिविधि भएमा सिधै कारबाही गरिने समेत जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जुम्लामा निर्वाचन आचारसंहिता पालना देखि शान्ति सुरक्षाको व्यवस्था निकै मजबुद बनाइएको बताउनु भयो । फागुन २१ गतेका दिन ढुक्क भएर मतदान गर्ने वाताबरण बनाइएको उल्लेख गर्नुभयो ।
फागुन १८ गतेदेखी सुरक्षाकर्मीदेखी कर्मचारीलाई मतदान स्थलमा खटाईने प्रजिअ पौडेलले जानकारी दिनुभयो । जुम्लाका ११० मतदान केन्द्र र मतदान स्थल ८४ वटा मध्य ५४ वटा मतदान केन्द्र अति संबेदनशील रहेकाले सामान्य, संवेदशनशील र अतिसंवेदनशील गरी तीतहमा वर्गीकरण गरी सुरक्षा व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।
