जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा हिमपात पर्न सुरु भएको छ। सोमबार राति सुरु भएको हिमपातले जुम्लाको उच्च पहाडी र हिमाली भेग सेताम्य बनेको छ। चिसो हावा र बाक्लो हुस्सुसँगै यहाँको मौसम झन् कठ्याङ्ग्रिँदो बन्दै गएको छ।
जिल्लाको तातोपानी, गुठिचौर, पातारासी, सिन्जा, हिमा र चन्दननाथ नगरपालिकाका अग्ला डाँडा–काँडामा बाक्लो हिउँ जम्न थालेको छ। केही अग्ला अग्ला स्थानमा दुई देखि तीन इन्चसम्म हिउँ जमिसकेको स्थानीयवासीहरूले बताएका छन्।
अग्ला डाँडाहरूमा हिमपात परिरहेको छ भने तल तल वर्षापनि परिरहेको छ चिसो बडे सगै बजारहरूमा पनि भीड घटेको र बिहान–बेलुका पसलहरू समयभन्दा अगाडि बन्द हुने क्रम बढेको छ।
हिउँसँगै तापक्रम ह्वात्तै घटेको छ। जिल्ला मौसम कार्यालयका अनुसार जुम्लाको न्यूनतम तापक्रम शून्य डिग्री नजिक पुगेको छ भने केही उच्च स्थानमा माइनसमा झरेको अनुमान गरिएको छ।
चिसो बढेसँगै विद्यालयका विद्यार्थीहरू बिहानको कक्षामा अनुपस्थित हुन थालेका छन्। अस्पताल र स्वास्थ्य चौकीहरूमा पनि चिसोका कारण ज्वरो, रुघाखोकी र जोर्नी दुखाइका बिरामी बढेका छन्।
तर, कृषकहरू भने हर्षित छन्। उनीहरूको भनाइमा यो समयको हिमपातले माटोको चिस्यान कायम रहन मद्दत गर्ने भएकाले गहुँ, जौ र तरकारी जातका हिउँदे बालीका लागि निकै लाभदायी हुन्छ।
हिमपातले जुम्लाको प्राकृतिक सौन्दर्य झन् आकर्षक बनेको छ। खलंगा बजारदेखि सिन्जा, पातारासी र गुठिचौरसम्मको दृश्य हिउँले सेतो ओढार झैँ देखिएको छ। स्थानीय युवा र बालबालिकाहरू हिउँमा खेल्दै रमाइरहेका छन् भने पर्यटकहरूले पनि हिम दृश्यको आनन्द लिइरहेका छन्।

