बाजुरा — बाजुराको हिमाली गाउँपालिकामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। गएराति अविरल वर्षापछि आएको बाढीले गाउँपालिकाभित्रका ११ वटा घर पूर्ण रूपमा बगाएको स्थानीय प्रशासनले जनाएको छ।
स्थानीय बासिन्दाका अनुसार बाढीले घरसँगै खाद्यान्न, लत्ता–कपडा, पशुधन र खेतीयोग्य जमिनमा समेत क्षति पुर्याएको छ। घटना पछि अझै पनि बाढीको जोखिम कायम रहेको भन्दै १७ वटा घर उच्च जोखिम क्षेत्रमा रहेको जनाइएको छ।
पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको र राहत सामग्री वितरणको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुरक्षा निकाय, स्थानीय स्वयंसेवक र बासिन्दा मिलेर उद्धार र राहत कार्य तीव्र पारिएको छ।
अहिले प्रभावित क्षेत्रमा सडक तथा सञ्चार सेवा आंशिक रूपमा अवरुद्ध भएको छ। मौसमविद्हरूले अझै केही दिन वर्षा जारी रहने अनुमान गरेकाले थप सतर्कता अपनाउन अनुरोध गरिएको छ।

