फागुन १० गते
निर्वाचनमा उम्मेदवारहरूबीच एकआपसमा प्रतिस्पर्धा हुने भएकाले कतिपय स्थानमा बोलचाल समेत हुँदैन । उनीहरूले एकअर्कालाई प्रतिस्पर्धी ठान्ने भएकाले संवाद गर्ने अवस्थासमेत रहँदैन । तर जुम्लामा फरक दृश्य देखिएको छ । नेकपा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार शान्तिलाल महतले नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीलाई टेलिफोन गरेर भोट माग्नु भएको छ । उनीहरूको यो अभ्यासले जिल्लामा सकारात्मक सन्देश फैलिएको स्थानीयले बताएका छन् ।
हिमा गाउँपालिका–५ बुअ गाउँमा पुगेका एमाले उम्मेदवार महतले कांग्रेस उम्मेदवार शाहीलाई फोन गरेर आफ्नो पक्षमा भोट मागिदिन आग्रह गर्नु भएको हो । उहाँले फोन संवादमा भन्नुभयो, म तपाईको गाउँमा आइपुगेको छु । भोट माग्न । तपाईले भोट मागि दिनुप¥यो । शाहीले जवाफमा नेकपाका उम्मेदवार नरेश भण्डारी एकपटक संविधानसभा सदस्य र प्रदेशसभा सदस्य चुनिएर मन्त्रीसमेत भइसकेको र ज्ञानबहादुर शाही सांसद भइसकेकाले यो पटकको नतिजा आफुहरूको पक्षमा पार्नु पर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, जुम्लाले सांसद दोहो¥याउँदैन ।
त्यही भएर मतदातासँग राम्रोसँग मत माग्नुहोला । शान्तिलाललाई दीपबहादुरले दाजु भनेर संवोधन गर्दै भन्नुभयो, स्वागत छ । शान्तिलालले थप्नुभयो, घरमा जाउँ भनेको कोही रहेन छन् । तपाईमार्फत एक एक मत मागे है । दीपबहादुरले हस भनेपछि फोन संवाद टुंगिएको थियो । शान्तिलालले फोन गरेर उम्मेदवारसँगै भोट मागेपछि उहाँसँगै प्रचारप्रसारमा गएका नेता–कार्यकर्ता उत्साहित बनेका छन् । उनीहरूबीचको यो संवादले निर्वाचनमा हुने हरेक प्रतिस्पर्धा उम्मेदवारबीचको सकारात्मक सोच र आपसी समझदारीसहित अघि बढ्नुपर्ने सन्देश दिएको स्थानीयले बताएका छन् ।
