चैत १५ जुम्ला
एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै नेकपा एमाले जुम्लाले विरोध–पत्र बुझाएको छ । प्रर्दशनसँगै जिल्ला प्रशासन मार्फत तत्काल रिहाईको माग गर्दै विरोध पत्र बुझाएको हो । केन्द्रको सर्कुलर अनुसार ७७ जिल्ला प्रशासनमा विरोधपत्र बुझाउने कार्यक्रम अन्तर्गत जुम्लामा पनि विरोधपत्र बुझाईएको नेकपा एमालेका कार्यवाहक अध्यक्ष प्रेम बहादुर बुढाले बताउनु भयो । गैरकानुनी रुपमा राजनीतिक प्रतिशोधका आधारमा पूर्वाग्राही रुपमा गरिएको गिरफ्तारी एमालेलाई स्वीकार्य नभएको उहाँको भनाइ छ । तत्काल रिहा नगरे कडा आन्दोलन सुरु हुने र त्यसको जवाफदेहि सरकार हुनु पर्ने उहाँको तर्क छ ।
नेकपा एमालेले गरेको शान्तिपूर्ण आन्दोलनबाट ओलि रिहाई नभए जुम्लामा रहेका सरकारी कार्यालयमा तालाबन्दी गर्न बाध्य हुने बुढाले बताउनु भयो । बालेन नेतृत्वको सरकार अमेरिका परास्त भएकाले नेपाली भूमिलाई रणमैदान बनाउन खोजेको उहाँको आरोप छ । साथै गौरी वहादुर कार्की आयोगको प्रतिवेदनलाई नेकपा एमालले अस्वीकार गरेको छ । नवगठित सरकारले देशमा सुशासन कायम गर्ने भन्दा पनि देशका लागि बलिदान र त्याग गरेका नेतालाई राजनीतिक प्रतिसोध गरेको छ । विना सर्त ओलि रिहाई नभए देश गृह युद्धमा जाने र त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने बुढाले बताउनु भयो ।
जुम्लाको हकमा वैशाख महिनामा काम त्यागेर भएपनि नेकपा एमालेले आन्दोलनको आँदि हुरी सृजना गर्ने छ । यसका लागि सम्पूर्ण शुभच्छुक तथा कार्यकर्तालाई तयार रहन उहाँले अनुरोध गर्नु भएको छ । यस्तै नेकपा एमालेका युवा नेता धिरज जैशीले ओलि रिहाई नभए कडा प्रतिवादमा उत्रिन बाध्य हुने बताउनु भयो । युवाशक्ति एकजुट भएर राष्ट् भक्ति नेताको रक्षाका लागि जुनसुकै कदम चाल्न तयार हुने उहाँको भनाइ छ । पार्टी अध्यक्ष रिहाई नगरे सरकारले ठुलो मुल्य चुकाउनु पर्ने जैशीले बताउनु भयो । साथै शनिबार एमाले निकट युवाहरुले जुम्लामा राँके जुलुस निकालेका थिए ।


