फागुन ४ जुम्ला
नेपाली कांग्रेस जुम्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीप बहादुर शाहीले ‘समुन्नत जुम्ला, सुखी जुम्लाबासी’ नारासहित आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्नु भएको छ । लोकतन्त्रको सुदृढीकरण, सुशासनको प्रत्याभूति र समग्र विकासलाई केन्द्रमा राख्दै जुम्लाको आवाज राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भएको हो । प्रतिज्ञा पत्र सार्वजनिक गर्दै शाहीले विकास, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली स्थापना आफ्नो प्राथमिकता रहेको बताउनु भयो ।
स्थानीय आवश्यकता र सम्भावनालाई आधार बनाएर शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन तथा संस्कृति क्षेत्रको समग्र विकासमार्फत जुम्लाको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । प्रतिज्ञा पत्रमा पार्टीका प्रभावशाली नेता गगन कुमार थापाको मार्गदर्शनमा भावी सरकार निर्माण हुने विश्वास व्यक्त गरिएको छ । सेवा र समर्पणको भावनासहित उम्मेदवारी दिएको उल्लेख गर्दै शाहीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षा विस्तार तथा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारिएको छ । स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन र दुर्गम बस्तीमा स्वास्थ्य पहुँच बढाउने कार्यक्रम समेटिएको छ । त्यसैगरी सडक सञ्जाल विस्तार, जलविद्युत् आयोजना, सिँचाइ सुविधा तथा सञ्चार पहुँच सुधारलाई पनि प्राथमिकतामा राखिएको छ ।
कृषि तथा जडीबुटी क्षेत्रको सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यसहित स्याउ उत्पादन तथा बजारीकरण, जडीबुटी प्रशोधन र किसानमैत्री कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ । साथै सिंजा उपत्यका लगायत धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, पर्यटन पूर्वाधार विकास र खस सभ्यताको प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रलाई आर्थिक आधारका रूपमा विकास गर्ने योजना पनि प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ ।
जुम्लाको माटोमा हुर्किएको प्रतिनिधिले मात्र यहाँका समस्या र सम्भावना सही रूपमा बुझ्न सक्ने बताउँदै शाहीले विकास, सुशासन र समुन्नत भविष्यका लागि आफूलाई मत दिन मतदातासँग आग्रह गर्नु भएको छ । नेपाली कांग्रेसले आगामी निर्वाचनमार्फत जुम्लामा स्थायी विकासको आधार निर्माण गर्ने विश्वास व्यक्त गरेको छ ।

