माघ २९ जुम्ला
जुम्लाका ६० वटा वडामा ६० जना मतदाता स्वयंसेवक परिचालन गरिने भएको छ । प्रत्येक वडामा एक–एक जना मतदाता स्वयंसेवक फागुन ३ गतेदेखि १७ गतेसम्म १५ दिनका लागि खटाइने जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्ने उद्देश्यले मतदाता स्वयंसेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका मतदाता शिक्षा समन्वयकर्ता धनबहादुर रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वयंसेवकहरूले निर्वाचन नमूना मतपत्रको माध्यमबाट मतदातालाई मतदान प्रक्रिया सम्बन्धी सही सूचना प्रदान गर्नेछन् । मतदाता स्वयंसेवकले कुनै पनि दल विशेषसँग दान वा उपहार स्वीकार गर्न नपाउने तथा भ्रामक अभिव्यक्ति दिन नहुने स्पष्ट निर्देशन दिइएको उहाँको भनाइ छ । नमूना मतपत्र मार्फत मतदातालाई व्यवहारिक रूपमा मतदान प्रक्रिया बुझाउने, मतदान प्रक्रियामा हुने अन्योल हटाउने र मतदातामा विश्वास अभिवृद्धि गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
गाउँ–गाउँमा खटिने मतदाता स्वयंसेवकलाई आवश्यक अनुशिक्षण कार्यक्रमसमेत प्रदान गरिएको छ । यसैगरी, मतदाता शिक्षा अनुगमनकर्ताका लागि माघ २७ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । मतदाता स्वयंसेवकका रूपमा बाल विकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालिका, मातृ स्वास्थ्य कार्यकर्ता तथा सामुदायिक अध्ययन केन्द्रका परिचालकहरू खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले आम मतदातालाई सही तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्ने बताउनु भयो । मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि र बदर मतको संख्या न्युनीकरण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनु भयो । जुम्लामा मतदाता संख्या ७१ हजार ७ सय ३९ जना रहेका छन् । जसमा महिला मतदाता तर्फ ३४ हजार दुई सय ८० जना र पुरुष मतदाता तर्फ ३७ हजार चार सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
