फागुन २ जुम्ला
नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्तिलाल महतलाई गुठिचौर गाउँपालिका क्षेत्रमा भव्य स्वागत गरिएको छ । घरदैलो अभियानका क्रममा स्थानीयवासीले विकास निर्माण तथा नीतिगत सुधारमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै उम्मेदवार महतप्रति आशा व्यक्त गरेका छन् । गुठिचौर गाउँपालिका–३, ४ र ५ मा घरदैलो कार्यक्रम अन्तर्गत स्थानीयसँग भेटघाट गर्नु भएका महतलाई स्थानीयवासीले देशभर लागु हुने एउटै नीति दुर्गम तथा हिमाली भेगका लागि उपयुक्त नहुने भन्दै जुम्लाको हावापानी र भौगोलिक अवस्थाअनुसार नीति निर्माणमा पहल गर्न अनुरोध गरेका छन् ।
स्थानीयका अनुसार भवन निर्माण लगायतका विकास योजनामा समान मापदण्ड लागु हुँदा जुम्लामा कार्यान्वयनमा समस्या हुने गरेको छ । गाउँपालिका–५ देपालगाउँका कृष्ण महतले जुम्लाको मौसम र भौगोलिक अवस्थालाई ध्यानमा राखेर भवन निर्माणसम्बन्धी नीतिमा सुधार आवश्यक रहेको बताउनु भयो । साथै देशभर एकै समयमा सञ्चालन हुने शैक्षिक सत्रले हिमाली जिल्लाका विद्यार्थीलाई समस्या परेको उल्लेख गर्दै मंसिर महिनादेखि शैक्षिक सत्र सञ्चालन हुने व्यवस्था गर्न नीतिगत पहल गर्न सुझाव दिनुभयो ।
यस्तै अर्का मतदाता प्रेम नेपालीले दुर्गम क्षेत्रमा विकास निर्माणका काममा हुने ढिलासुस्तीप्रति संसदमा सशक्त आवाज उठाउन आग्रह गर्नुभयो । दुर्गम भुगोलका कारण योजनाहरू ढिलो सम्पन्न हुने समस्या समाधानका लागि सिंगो संसदको ध्यानाकर्षण गराउनुपर्ने उहाँको भनाइ थियो । उम्मेदवार महतले जनताले विश्वास गरेर मत दिएको खण्डमा नीति निर्माण तहमा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै उहाँले अन्य उम्मेदवारभन्दा आफु काम गर्ने शैली र अनुभवका आधारमा अब्बल रहेको दाबी गर्नुभयो । तडकभडक भन्दा सेवा भावका साथ जनताको प्रतिनिधि बनेर काम गर्ने उहाँको भनाइ छ ।

