माघ २४ जुम्ला
नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो पक्षमा चुनावी माहोल बनाउन घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ । जुम्लाका विभिन्न गाउँबस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै उहाँले सडक पूर्वाधार, शिक्षा, कृषि, ऊर्जा तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित विकासका एजेण्डा अघि सार्नु भएको हो ।
घरदैलो अभियानका क्रममा भण्डारीले कनकासुन्दरी गाउँपालिकाको भैँसेरी–जलजला हुँदै चन्दननाथको काटेसाँघुसम्म सडक निर्माण गर्ने, ओदि देखि कालिकोटको पलाँतासम्म सडक निर्माण गर्ने तथा त्रिवेणी–टोप्ला हुँदै जाजरकोट जोड्ने सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यस्तै, नाग्म–गमगढी सडक कालोपत्रे गर्न पहल गर्ने र मनाङ–मुस्ताङ जोड्ने सडकको स्तरवृद्धि गर्ने विषयलाई पनि उहाँले प्राथमिकतामा राख्नु भएको छ ।
सिँजा सभ्यता संरक्षण तथा प्रवद्र्धनलाई पनि मुख्य चुनावी मुद्दाका रुपमा अघि सार्दै भण्डारीले सिँजा सभ्यता विधेयक संसदमा पेश गरी पारित गराउन पहल गर्ने बताउनु भएको छ । साथै सिँजा बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसका रुपमा विकास गरी उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने योजना रहेको उहाँको भनाइ छ ।
कृषि तथा ऊर्जा क्षेत्रको विकासलाई जोड दिँदै भण्डारीले स्याउ विकास बोर्डसँग समन्वय गरेर जुम्लालाई स्याउ क्षेत्र घोषणा गर्ने, उत्पादन वृद्धि र बजारीकरणमा सहजीकरण गर्ने तथा तिला र जवा नदीमा ७२ मेगावाट विद्युत उत्पादनका लागि पहल गर्ने योजना अघि सार्नु भएको छ । सिँजा क्षेत्रका सडक छेउछाउका बस्तीहरूमा केन्द्रित भएर चुनावी प्रचार–प्रसार गर्नु भएका भण्डारीले मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिनु भएको छ ।
हालसम्म पातारासी गाउँपालिकाको वडा नम्बर ६ र ७ बाहेक अन्य वडामा प्रचार कार्यक्रम सम्पन्न गरिसक्नु भएको छ । शनिबारदेखि आफ्नै भुगोल क्षेत्रका वडा नम्बर ४ र ५ मा घरदैलो अभियान सुरु गरिएको र आगामी दिनमा गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने योजना रहेको उहाँले बताउनु भएको छ ।
भण्डारी २०६४ सालमा प्रतिनिधि सभा सदस्य तथा २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भई कर्णाली प्रदेशका कानुन मन्त्रीसमेत भइसक्नु भएको नेता हुनुहुन्छ । यस पटकको निर्वाचनमा उहाँसहित जुम्लाबाट दश जना उम्मेदवार चुनावी मैदानमा रहेकाले प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
