चैत १६ जुम्ला
जुम्लामा सार्वजनिक स्थलमा जातीय विभेद गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुठीचौर गाउँपालिका–३ गज्र्याङ्गकोटकी २२ वर्षीया कविता बुढालाई चैत १६ गते प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँमाथि चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका–५ कालेखोलीस्थित एक होटलमा सोही ठाउँका २७ वर्षीय राजबहादुर सुनारमाथि अपशब्द प्रयोग गर्दै जातीय विभेद गरेको आरोप छ । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, जुम्लामा उजुरी दिएका थिए ।
त्यसपछि अनुसन्धान अघि बढाउँदै प्रहरीले आरोपितलाई पक्राउ गरेको डिएसपी रविनबाबु रेग्मीले जानकारी दिनुभयो । यता, उक्त भिडियो सार्वजनिक गरेपछि आरोपितले पत्रकार महेश नेपालीमाथि गालीगलोज गरेको भन्दै नेपाल पत्रकार महासंघ जुम्लाले आपत्ति जनाएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै असभ्य व्यवहारप्रति ध्यानाकर्षण गराएको छ । नेपालको संविधान तथा जातीय छुवाछूत र भेदभाव सम्बन्धी कानुनले यस्ता कार्यलाई दण्डनीय मानेको छ ।
जातिय भेदभाव तथा छुवाछुत -कसूर र सजाय) नियमावली २०७४ बमोजिम पच्चीस हजार देखि एक लाखसम्म जरिवाना तथा जल सजाँय हुन सक्ने व्यवस्था गरेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा …जातीय भेदभाव तथा -कसूर र सजाय ऐन, २०६८Ú जारी भएको आज १४ वर्ष भइसकेको छ । जातीय भेदभाव तथा -कसूर र सजाय) ऐनमा …कसैले पनि जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गर्न वा गराउन हुँदैन भनिएको छ ।
ऐनमा उल्लेख गरिएको छ, कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीरिरिवाज, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गरेको मानिनेछ । नेपालको संविधान २०७२ को धारा २४ छुवाछूत तथा भेदभाव विरुद्धको हक -१) मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिनेछैनÚ भनिएको छ ।
