जुम्ला — हिमाली जिल्ला जुम्लाका बगैँचामा अहिले स्याउ टिप्ने चटारो बढेको छ। असोज महिनाको आगमनसँगै यहाँका बगैँचाहरू रातो–हरियो स्याउले भरिभराउ छन्। किसानहरू बिहान सबेरैदेखि नै स्याउ टिप्न व्यस्त छन् भने व्यापारी र ठेकदारहरूले बजार पुर्याउने तयारी गरेका छन्।
जुम्ला नेपालको प्रमुख अर्गानिक स्याउ उत्पादन केन्द्रका रूपमा चिनिन्छ। यहाँ उत्पादन हुने स्याउ विषादीरहित भएकाले देशभर माग उच्च छ। यस वर्ष मौसमी वर्षा र मौसम अनुकूल भएकाले उत्पादन राम्रो भएको किसानहरूले बताएका छन्।
जिल्लाका तिला, गुठीचौर, चन्दननाथ, पातारासी लगायतका बगैँचामा अहिले सयौँ स्थानीय श्रमिक जुटेका छन्। कतिपय स्थानमा महिलाहरूले समूह बनाएर स्याउ टिप्ने र छान्ने काम गरिरहेका छन्।स्थानीय व्यापारीका अनुसार जुम्लाबाट यस वर्ष लाखौँ केजी अर्गानिक स्याउ तराईका विभिन्न सहरमा पठाइनेछ। त्यस्तै, केही मात्रा काठमाडौँ लगायतका बजारमा पनि पुर्याउने तयारी भइरहेको छ।
किसानहरूले भने उचित मूल्य नपाउने चिन्ता व्यक्त गरेका छन्। “परिश्रम धेरै हुन्छन, तर बजारमा ठेकदारले मूल्य तोकेरै लैजान्छ,” गुठीचौरकी किसान लक्ष्मी बुढाले भनिन्, “सरकारले स्थायी बजार र सहुलियत ढुवानीको व्यवस्था गरिदिए हामीलाई राहत हुने थियो।”यसबीचमा जिल्ला कृषि कार्यालयले भने किसानलाई सहज बनाउन संकलन केन्द्र स्थापना गर्ने र बजार व्यवस्थापनमा सहजीकरण गर्ने तयारी भइरहेको जनाएको छ।
जुम्लाबाट वार्षिक लाखौँ किलो स्याउ तराई र काठमाडौंका बजारमा पठाइन्छ। यो वर्ष पनि व्यापारीहरूले तराईका प्रमुख बजार र राजधानीसम्म पुर्याउने तयारी गरेका छन्। जिल्ला कृषि विकास कार्यालयले किसानलाई सहज बनाउन संकलन केन्द्र स्थापना गर्ने र सहकारीमार्फत बजार व्यवस्थापन गर्ने योजना अघि सारेको जनाएको छ। विशेषज्ञहरूका अनुसार, जुम्ला स्याउलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने सम्भावना ठूलो छ। तर, त्यसका लागि गुणस्तरीय प्याकेजिङ, कोल्ड–स्टोर, मूल्य स्थायित्व र सहुलियतपूर्ण यातायात पूर्वाधार आवश्यक रहेको सुझाव दिइएको छ।

