फागुन २७ जुम्ला
जुम्लाको बजार क्षेत्रको एयरपोर्ट लाइनमा रहेका विभिन्न पसलहरूको बजार अनुगमन गरिएको छ । उपभोक्ताको अधिकार सुरक्षित गर्न तथा मिति सकिएको सामान बिक्री वितरणमा रोक लगाउने उद्देश्यले अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका अनुसार पातारासी गाउँपालिका लगायतका क्षेत्रमा रहेका साना पसलहरूमा सामान एयरपोर्ट लाइनका ठुला पसलबाट जाने भएकाले सो क्षेत्रका पसलहरूलाई लक्षित गरी अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा एयरपोर्ट लाइनमा रहेका ज्योति खाद्यान्न तथा खुद्रा पसल, महारुद्र जनरल स्टोर, बासमती जनरल स्टोर, नविना जनरल स्टोर, सन्दिपा जनरल स्टोर र जनक खुद्रा पसलको निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा मिति सकिएका सामान तत्काल जफत नगरिए पनि व्यापारीहरूलाई सचेत गराउने काम गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले बताउनु भयो ।
उहाँका अनुसार अर्को पटक अनुगमनका क्रममा मिति सकिएको सामान भेटिए कानुन अनुसार कारबाही गरिने छ । त्यस्तै, व्यवसाय सञ्चालन गर्दा पसल दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र तथा प्यान नम्बर अनिवार्य रूपमा राख्न व्यवसायीहरूलाई अनुरोध गरिएको छ । बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ जुम्ला, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको अगुवाइमा अनुगमन गरिएको हो ।

