चैत १८ जुम्ला
जिल्लामा माध्यमिक शिक्षा परीक्षा -एसईई) सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षा केन्द्रहरूमा प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सबै सामग्री समयमै पु¥याइसकिएको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ । परीक्षा सञ्चालनका लागि १४ जना केन्द्राध्यक्ष, १४ जना सहायक केन्द्राध्यक्ष, ११३ जना निरीक्षक, २३ जना परीक्षा सहायक र ३४ जना कार्यालय सहयोगी परिचालन गरिएको छ ।
साथै, २१० जना सुरक्षाकर्मीसमेत खटाइएको छ । प्राविधिक धारतर्फका २४ जनासहित कुल ४ सय ४५ जना जनशक्ति परिचालन गरिएको इकाई प्रमुख रमेश लोहार -अन्जान) ले जानकारी दिनुभयो । जिल्लाका १४ वटा परीक्षा केन्द्रबाट कुल २ हजार २ सय ५५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । यी विद्यार्थी ५२ वटा माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी हुन लागेका हुन् ।
सहभागीमध्ये २ हजार १ सय ३३ जना नियमिततर्फ, २ हजार १४ जना नियमित साधारणतर्फ, १ सय १९ जना प्राविधिक धारतर्फ र १ सय २२ जना ग्रेड वृद्धितर्फका रहेका छन् । परीक्षालाई शान्त, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न केन्द्राध्यक्षहरूलाई आवश्यक निर्देशन दिइएको इकाईले जनाएको छ । केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष बाहेक अन्य व्यक्तिले मोबाइल फोन प्रयोग गरेको पाइएमा परीक्षा निर्देशिका अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
त्यसैगरी, परीक्षाको क्रममा कुनै पनि अमर्यादित गतिविधि गरेको पाईएमा कडा कारबाही गरिने प्रमुख लोहारले बताउनु भयो । परीक्षा चैत १९ गतेबाट संचालन भई चैत २९ मा सम्पन्न हुने छ ।

