वैशाख २१ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सम्भव नहुने जटिल प्रकृतिको न्युरो सर्जरीको सफल शल्यक्रिया भएको छ । काठमाण्डौँ स्थित ट्रमा सेन्टरका न्युरो सर्जन डा. निलम खड्काको नेतृत्वमा करिब सात घण्टा लगाएर गरिएको शल्यक्रियाबाट टाउँमा चोट लागेका गम्भीर घाइते बिरामीको ज्यान बचेको हो । जुम्ला पातारासी गाउँपालिका–३ छुम निवासी गोर बोहोरा वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो ।
प्रतिष्ठानमा डाक्टरको समस्याले गर्दा उहाँलाई अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो । तर कमजोर आर्थिक अवस्थाका कारण बिरामीलाई बाहिर लैजान सम्भव नभएको विरामीका ज्वाइँ गोर्खबहादुर रावतले बताउनु भयो । योग शिविरका लागि जुम्ला आउनु भएका डा. खड्का जिल्लामै रहेको जानकारी पाएपछि बिरामीका आफन्तले उहाँसँग आग्रह गरेका थिए ।
गुठीचौर गाउँपालिका–५ देपालगाउँमा बसिरहनु भएका डा. खड्काले मानवीय भावनाका साथ शल्यक्रिया गर्न सहमति जनाएपछि आईतबार साँझ शल्यक्रिया गर्नु भएको हो । शल्यक्रियाका लागि आवश्यक उपकरण समेत पर्याप्त नभएको अवस्थामा डा. खड्काले विगतमा जुम्लामा काम गर्दा ल्याएर राखेका सामग्री प्रयोग गरी शल्यक्रिया सम्पन्न गरिएको बताइएको छ । डा. खड्कासँगै डा. निर्मल थापा र इमेर्जेन्सी वार्डका वरिष्ठ चिकित्सक रमेश काफ्ले लगायतको टोलीले शल्यक्रियामा सहयोग गर्नु भएको थियो ।
निःशुल्क रूपमा गरिएको उक्त शल्यक्रियाबाट करिब २० लाख रुपैयाँ बराबरको उपचार खर्च जोगिएको अनुमान गरिएको छ । बिरामीको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ । आर्थिक अभावका कारण बिरामी बचाउने आश मारिसकेका आफन्तले जुम्लामै यस्तो जटिल शल्यक्रिया सम्भव बनाइदिएको भन्दै डा. खड्कालाई भगवान सरह भएको प्रतिक्रिया दिएका छन् ।
