वैशाख २० जुम्ला
जुम्लामा घट्दै गएका पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा सामुदायिक वन उपभोक्ता समिति तथा खानेपानी उपभोक्ता समितिसँग छलफल गरिएको छ । कर्णाली प्रदेशका मुख्य पानीका मुहानहरूको पहिचान गर्दै पुनर्भरण योजना तयार गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रम उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश वन निर्देशनालय, सुर्खेतको आयोजनामा सम्पन्न भएको हो ।

छलफलका क्रममा पछिल्लो समय पानीका स्रोतहरू सुक्दै र न्युनिकरण हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै तिनको दीगो व्यवस्थापनका लागि समुदाय र सम्बन्धित निकायहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । कार्यक्रममा प्रदेश वन निर्देशक शेर बहादुर श्रेष्ठले पानीका मुहान संरक्षणका लागि विभिन्न व्यवहारिक उपायहरू अपनाउन सकिने बताउनु भयो । उहाँका अनुसार जमिनमा पानी सोसिने क्षमता बढाउन खाडल खन्ने, चेकड्याम निर्माण गर्ने तथा वर्षाको पानी संकलनका उपायहरू प्रभावकारी हुन सक्ने बताउनु भयो ।

त्यस्तै, मुहानको पुनर्भरण क्षेत्रमा वृक्षारोपण गरी माटोको पानी धारण गर्ने क्षमता बढाउने, भूक्षय नियन्त्रण गर्ने, जमिन सम्याउने तथा ढलान स्थिरीकरण गर्ने कार्यहरू पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । सुख्खा सहन सक्ने वनस्पति रोप्ने र पानी संरक्षण मैत्री कृषि प्रणालीको विकास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा सहभागी इन्जिनियरिङ भूगर्भविद् बद्रि बुढाथोकीले पानीका स्रोतहरूको दीर्घकालीन संरक्षणका लागि स्थानीय स्तरमै उपभोक्ता समिति गठन गरी नियमित अनुगमन र संरक्षण कार्य अगाडि बढाउन सुझाव दिनुभयो ।

उहाँले पानीका स्रोतहरू घट्दै गएको अवस्थामा पुनर्भरण योजना निर्माण गर्नु अत्यावश्यक भएको बताउँदै स्रोत संरक्षणका लागि चरिचरणमा नियन्त्रण र वन क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । जुम्लामा पानीका स्रोत संरक्षण र पुनर्भरणका लागि समुदायको सक्रियता, वैज्ञानिक योजना निर्माण र सम्बन्धित निकायबीच समन्वय अपरिहार्य रहेको बताईएको छ ।

Share.

Leave A Reply

Exit mobile version