वैशाख ९ जुम्ला
जुम्लामा प्रथम खुला स्ववियु भलिबल प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु) जुम्लाको आयोजनामा प्रतियोगिता सञ्चालनमा आएको हो । प्रतियोगिताको उद्घाटन खेल जुम्ला बहुमुखी क्याम्पसका कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण रुपमा सम्पन्न भएको थियो । जसमा पत्रकारको टोलीले सोझो दुई सेटमा क्याम्पसको टोलीलाई पराजित गरेको छ । स्ववियु सभापति लोकेन्द्र बुढाका अनुसार प्रतियोगितामा ९ वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेता टोलीले एक लाख १ हजार १ सय १ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार १ सय १ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । उद्घाटन कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख राजुसिंह कठायतले खेलकुदमार्फत शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सकिने बताउनु भयो । उहाँले प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न आयोजकलाई सुझावसमेत दिनु भएको छ ।

त्यस्तै, जिल्ला समन्वय समिति जुम्लाका समन्वय अधिकारी रोमबहादुर महतले खेलकुदमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने उल्लेख गर्नुभयो । पछिल्लो समय फुटबलको लोकप्रियता बढ्दै गए पनि भलिबलको महत्व अझै उच्च रहेको र यसबारे जनचेतना बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो । स्ववियु सभापति बुढाले विद्यार्थी तथा खेलाडीहरूको मनोबल उच्च बनाउन र भलिबल खेलप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भएको छ ।

Share.

Leave A Reply

Exit mobile version