वैशाख ८ जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिका–८ जातिभिडमा रहेको भगवती आधारभूत विद्यालयले विदाको समयलाई सदुपयोग गर्दै शैक्षिक योजना निर्माण कार्यलाई तीव्रता दिएको छ । शैक्षिक सत्र २०८३ लाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमुलक बनाउने लक्ष्यसहित विद्यालयले विभिन्न योजना निर्माणमा ध्यान केन्द्रित गरेको हो ।
विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाका अनुसार, २०८३ सालको वार्षिक कार्ययोजना, समग्र शैक्षिक योजना निर्माण, विद्यालय सुधार योजना अध्यावधिक, सिकाइ उपलब्धि विश्लेषण तथा एकीकृत पाठ्यक्रम कार्यान्वयन योजना निर्माणको काम भइरहेको बताउनु भयो । उहाँले शिक्षकहरूलाई खाली समयको सदुपयोग गर्दै योजना निर्माणमा सक्रिय रूपमा संलग्न गराइएको जानकारी दिनुभयो ।
विद्यालयमा हाल कक्षा ८ सम्म अध्यापन हुँदै आएको छभने २९६ जना विद्यार्थी अध्ययनरत छन् । उपलब्ध जनशक्तिमध्ये १३ जना शिक्षकहरू योजना निर्माणमा प्रत्यक्ष रूपमा जुटेका छन् । प्रधानाध्यापक थापाका अनुसार नेपाल सरकारले वैशाख २ गतेदेखि १४ गतेसम्म शैक्षिक योजना निर्माण गर्न दिएको निर्देशन अनुसार विद्यालयले उक्त कार्यलाई प्राथमिकतामा राखेको हो ।
यसैबीच, वैशाख १५ देखि २१ गतेसम्म विद्यालय भर्ना अभियान सञ्चालन गरिने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गरिने तयारी रहेको छ । भर्ना अभियान अघि उपलब्ध समयलाई उपयोग गर्दै शिक्षकहरूको ज्ञान र अनुभवलाई योजनामार्फत व्यवहारमा उतार्न खोजिएको विद्यालयले जनाएको छ ।
प्रधानाध्यापक थापाले तयार गरिने शैक्षिक योजनाले विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, निर्माण गरिएको योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी शैक्षिक सत्रलाई उपलब्धिमुलक बनाउने लक्ष्य राखिएको उहाँले बताउनु भयो ।
