जुम्ला — आयुर्वेद स्वास्थ्य सेवा केन्द्र, जुम्लाले बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित स्वर्णप्राशन (स्वर्ण बिन्दु प्राशन) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। आइतबार बिहान १० बजेदेखि होटल मानव सरोवरमा सुरु भएको कार्यक्रममा चन्दननाथ नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जिल्लामा स्वर्णप्राशन कार्यक्रम पहिलोपटक सुरु गरिएको जानकारी दिँदै यसको आवश्यकतामाथि जोड दिएका थिए। उनले बालस्वास्थ्य सुधार र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने दृष्टिले यस कार्यक्रम महत्वपूर्ण रहेको बताए। साथै, वैशाख ६ र ७ गते सञ्चालन हुने राष्ट्रिय खोप अभियानसँग यस कार्यक्रमले समन्वय गरी अझ प्रभावकारी परिणाम दिने विश्वास व्यक्त गरे।
कार्यक्रमका सभापति तथा आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख डा. सन्तोष पौडेलले स्वर्णप्राशनको ऐतिहासिक, औषधीय र पोषणीय पक्षबारे प्रष्ट पारे। उनका अनुसार काश्यप संहितामा उल्लेख गरिएको यो प्राचीन आयुर्वेदिक विधि विशेष गरी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकामा प्रयोग गरिन्छ, जसले उनीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।
स्वागत मन्तव्य दिँदै केन्द्रकी सुमित्रा आचार्यले जुम्लामा पहिलोपटक सञ्चालन गरिएको यस कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताइन्। उनले समुदायस्तरमा जनचेतना फैलाउन स्वयंसेविकाहरूलाई अग्रसर हुन आग्रह गरिन्।
अभिमुखीकरण कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञहरूले प्रशिक्षण प्रदान गरेका थिए। डा. पौडेलले स्वर्णप्राशनको आधारभूत अवधारणा र महत्त्वबारे प्रस्तुति दिएका थिए भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मुन्ना केशरीले बालबालिकाको विकासक्रमबारे जानकारी दिएका थिए। त्यसैगरी किरण शर्माले कुपोषण सम्बन्धी विषयमा र डा. रमेश आचार्यले बालरोगसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।
आयुर्वेदिक मान्यताअनुसार स्वर्णप्राशनले बालबालिकाको बुद्धि, पाचन शक्ति तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने विश्वास गरिन्छ। नियमित प्रयोगले स्मरण शक्ति सुधार हुने तथा समग्र स्वास्थ्यमा दीर्घकालीन लाभ पुग्ने उल्लेख गरिएको छ।
नेपालमा केही वर्षयता सञ्चालनमा रहेको स्वर्णप्राशन कार्यक्रम यस वर्षदेखि कर्णाली प्रदेशका विभिन्न जिल्लामा विस्तार भइरहेको छ। जुम्लासहित सुर्खेत र कालिकोटमा पनि यसको दायरा बढाइएको हो।

