चैत १४ जुम्ला
भुलभुले क्षेत्र वर्षौँदेखि प्रभावकारी सञ्चार सेवाबाट वञ्चित हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका छन् । मुगुको राराताल जाने मार्गमा पर्ने यो महत्वपूर्ण स्थानमा फोन नेटवर्क नियमित रूपमा नचल्दा पर्यटक र स्थानीय व्यवसायी दुवै प्रभावित भएका हुन् । कनकासुन्दरी गाउँपालिका–१ अन्तर्गत मोर्फान गाउँको डाँडामा रहेको टावर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा भुलभुले क्षेत्रमा सञ्चार सेवा अवरुद्ध जस्तै भएको स्थानीयको गुनासो छ ।
विशेषगरी रारातालतर्फ जाने पर्यटकहरू बाटोमा विश्रामका लागि भुलभुलेमै बस्ने गरे पनि सञ्चार अभावले अलपत्र पर्ने अवस्था देखिएको छ । स्थानीय होटल व्यवसायी गोविन्द भण्डारीका अनुसार नेटवर्क नियमित नहुँदा पर्यटकसँग सम्पर्क गर्न समस्या हुने गरेको बताउनु भयो । भुलभुलेमा पर्यटकहरू आइरहन्छन् । तर फोन नलाग्दा सम्पर्क गर्न गाह्रो हुने गरेको उहाँको भनाइ छ । पत्रकार मानदत्त रावलले पर्यटकीय स्थलमै सञ्चार सुविधा नहुनु दुःखद पक्ष भएको बताउनु भयो । राज्यको ध्यान पुग्न नसकेको उहाँको भनाइ छ ।
कहिलेकाहीँ मात्र सिग्नल आउने भए पनि नियमित नभएकाले पर्यटक र व्यवसायी दुवैलाई समस्या परेको रावले बताउनु भयो । वडा नम्बर–१ का वडाध्यक्ष भिमबहादुर भण्डारीका अनुसार भुलभुले क्षेत्रमा फोरजी सेवा सहितको टावर अत्यावश्यक भए पनि स्थानीय तहको स्रोतले मात्र सम्भव नहुने बताउनु भयो । संघीय सरकारको ध्यान अझै पुग्न नसकेको उहाँको गुनासो छ । नेटवर्क समस्याबारे सम्बन्धित निकायमा बारम्बार जानकारी गराउँदा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।
विकट तथा पर्यटकीय क्षेत्रमा सञ्चार सुविधा नहुँदा आकस्मिक अवस्थामा पर्यटकले सहयोग माग्न समेत कठिन हुने गरेको छ । यसले पर्यटक सुरक्षामाथि समेत प्रश्न उठाएको छ । भुलभुले जुम्लाको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक हो । राराताल जाने क्रममा सवारी साधन बिग्रिएमा वा अन्य कारणले यात्रुहरू यही क्षेत्रमा बास बस्ने गर्छन् । त्यसैले यहाँ भरपर्दो सञ्चार सुविधा विस्तार गर्न राज्यले शीघ्र पहल गर्नुपर्ने स्थानीयको माग छ ।

