फागुन ४ जुम्ला
जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर १ र २ का महिलालाई लक्षित गर्दै पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण क्षेत्रमा पाठेघर सम्बन्धी समस्या झेल्दै आएका महिलालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । शिविरमा १ सय ८१ जना महिलाको पाठेघरसम्बन्धी जाँच गरिएको आयोजकले जनाएको छ । जाँचका क्रममा सामान्य समस्या देखिएका ४ जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) मा रिफर गरिएको छ ।
त्यस्तै, शिविरमा १ सय ७७ जना महिला पाठेघरको चेकजाँच गरिएको सर्वाेदय नेपाल जुम्लाका सामाजिक परिचालक ओम वहादुर अधिकारीले जानकारी दिनुभयो । शिविर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका गाइनो विशेषज्ञ डाक्टर सागर कोइरालाको टोलीद्वारा पातारासी स्वास्थ्य चौकी माथाचौरमा सञ्चालन गरिएको हो । दुर्गम बस्तीका महिलालाई घरआँगनमै सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको उहाँको भनाइ छ ।
फेमी फाउन्डेसनको सहयोग तथा सर्वोदय नेपालको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो । गाउँमा धेरै महिलाले लामो समयदेखि पाठेघरसम्बन्धी समस्या सहदै आए पनि स्वास्थ्य संस्था टाढा र पहुँच अभावका कारण समयमै उपचार नपाएको अवस्था थियो ।सामाजिक परिचालक अधिकारीका अनुसार शिविरले ग्रामीण महिलालाई ठुलो राहत पुगेको बताउनु भयो । स्वास्थ्य संस्था टाढा भएकाले महिलाले उपचारका लागि समय दिन नसक्ने भएकाले गाउँमै शिविर सञ्चालन गरिएको हो ।
शिविरमार्फत गाउँमै विशेषज्ञ सेवा उपलब्ध हुँदा धेरैलाई फाइदा पुगेको उहाँको भनाइ छ । शिविरले महिलामा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै जटिल समस्या समयमै पहिचान गरी उपचारको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

