चैत १७ जुम्ला
जुम्लामा आउँदो वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन हुने भएको छ । विश्वसनीय नीति निर्माण र प्रभावकारी योजना तर्जुमा गर्ने उद्देश्यसहित आर्थिक गणना गर्न लागिएको हो । जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका अनुसार गणनाका लागि १७ जना गणक र ३ जना सुपरिवेक्षक परिचालन गरिनेछन् । यस क्रममा जुम्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानहरूको विस्तृत विवरण संकलन गरिनेछ ।
आर्थिक गणना २०७५ को तथ्यांक अनुसार जुम्लामा १ हजार ५६९ व्यापारिक प्रतिष्ठान, १ हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् । स्थानीय तहगत रूपमा चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी १ हजार ५८ प्रतिष्ठान रहेका छन् भने गुठिचौर गाउँपालिकामा सबैभन्दा कम २१० प्रतिष्ठान रहेको जनाइएको छ । अन्य स्थानीय तहमा कनकासुन्दरीमा ३७४, तिलामा ३५८, पातारासीमा ३०८, सिँजामा २९२, तातोपानीमा २६७ र हिमा गाउँपालिकामा २११ प्रतिष्ठान रहेका छन् । यसपटक जुम्लामा वास्तविक र अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी गणना गरिने बताइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले दर्तामा नआएका प्रतिष्ठानलाई औपचारिक दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले विना दर्ता सञ्चालन भइरहेका व्यवसायलाई राज्यले नियमन गर्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै, प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले आर्थिक गणनाबाट जिल्लाको रोजगारीको अवस्था स्पष्ट हुने बताउँदै यस कार्यमा निजी क्षेत्रले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्तरमा आर्थिक गणना २०७५ को तथ्यांक अनुसार महिलाको स्वामित्वमा २ लाख ४७ हजार ८८० प्रतिष्ठान सञ्चालनमा रहेका छनभने महिलाले व्यवस्थापन गरेका प्रतिष्ठानको संख्या २ लाख ७३ हजार ४३६ पुगेको छ । यद्यपि, नेपालमा ५२.४ प्रतिशत प्रतिष्ठानले कारोबारको लेखा नराख्ने गरेको तथ्यले कर छलीको चुनौती अझै कायम रहेको देखाएको छ ।
देशभर ९ लाख २३ हजार ३५६ वटा प्रतिष्ठानको संख्या रहेको छ । त्यस मध्ये दर्ता भएका प्रतिष्ठानका संख्या ४ लाख ६२ हजार ६०५ र दर्ता नभएका प्रतिष्ठानको संख्या ४ लाख ६० हजार ४२२ वटा रहेका छन् । करोबार र लेखा नराख्ने प्रतिष्ठानको संख्या ४ लाख ७२ हजार ३५० वटा रहेको जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले जनाएको छ ।

