फागुन २६ जुम्ला
नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले चुनाव खर्च सार्वजनिक गर्नु भएको छ । महतले चुनाव अवधिभर भएको खर्च मंगलबार सार्वनजिक गर्नु भएको हो । सार्वजनिक भएको खर्च विवरण अनुसार महतको चुनाव अवधिभर ५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । जुम्लाका एक स्वतन्त्र सहित १० उम्मेदवार मध्य चुनाव खर्च सार्वजनिक गर्ने एमाले उम्मेदवार महत र नेकपा माओवादीका विर्ष वहादुर शाही पहिलो हुनुहुन्छ ।
खर्च विवरण अनुसार गाडी एउटा ९० हजार, ईन्धन एक सय लिटर ३० हजार, प्रचार सामाग्री पर्चा पम्पलेट खर्च १ लाख ६० हजार, आवाज सहितको सन्देश निर्माण तर्फ १ लाख ३० हजार र अन्य खर्च १ लाख ४३ हजार गरी कुल ५ लाख ५३ हजार खर्च भएको एमाले उम्मेदवार महतले जानकारी दिनुभयो । निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालय जुम्लामा समेत बुझाईसकेको उहाँको भनाइ छ । जुम्लाका अन्य उम्मेदवारले अझै चुनाव खर्च सार्वजनिक गरेका छैनन् ।
उम्मेदवारले अनिवार्य रुपमा चुनाव खर्च सार्वजनिक गर्नु पर्ने कानुनी प्रावधान छ । निर्वाचन आयोगले जुम्लाका प्रत्यक्ष तर्फका उम्मेदवारलाई ३० लाखसम्म खर्च गर्न पाउने आचार संहिता बनाएको थियो । यसैगरी, नेकपा माओवादीका उम्मेदवार विर्ष वहादुर शाहीले पनि चुनाव खर्च सार्वजनिक गर्नु भएको छ ।
चुनाव अवधिमा शाहीले १ लाख ५२ हजार ८ सय रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नु भएको हो । मनोनयन दर्तामा १० हजार, झण्डा एवं ब्याजमा १५ हजार, घरदैलो कार्यक्रममा ४० हजार, होटल तथा खाजामा ४० हजार, नमूना मतपत्र छपाईमा २० हजार, सवारी साधनमा १० हजार र पेट्रोलमा १५ हजार खर्च भएको शाहीले जानकारी गराउनु भयो ।

