चैत ११ जुम्ला
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदान गर्दै आएको स्वास्थ्य सेवामा देखिएका समस्या समाधान तथा गुणस्तर अभिवृद्धिका लागि सर्वपक्षीय छलफल तथा सुझाव ग्रहण कार्यक्रम आयोजना गरेको छ । सेवाग्राहीको गुनासो, अनुभव र सरोकारवालाको सुझावलाई समेटेर सेवा सुधार गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । प्रतिष्ठानका रजिष्ट्रार लक्ष्मी महतका अनुसार छलफलबाट प्राप्त सुझावका आधारमा स्पष्ट कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजाने बताउनु भयो ।
सेवालाई अझ सुधार गर्दै गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ सेवा प्रदान गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । छलफल कार्यक्रममा सहभागी पूर्वमन्त्री बलबहादुर महत, नेपाली कांग्रेस जुम्लाका सभापति कर्णबहादुर शाही तथा नेकपा नेता विष्णबहादुर महत -गौरव) लगायतले प्रतिष्ठानलाई …रेफरल केन्द्रÚ जस्तो मात्र बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनु भएको छ । उनीहरूले स्थानीय स्तरमै प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै बिरामीलाई बाहिर रेफर गर्नुपर्ने अवस्थालाई न्युनिकरण गर्न आग्रह गरेका हुन् ।
सहभागीहरूले प्रतिष्ठानले प्रदान गर्ने सेवा विश्वसनीय, छिटो, छरितो र भरपर्दो हुनुपर्नेमा जोड दिएका छन् । अस्पताल परिसरको फोहोर व्यवस्थापनमा सुधार ल्याउन, ओपिडीमा हुने भीडभाड व्यवस्थापन गर्न तथा आवश्यक औषधीहरूको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने माग समेत उठाइएको छ ।
अस्पतालमा पुग्दा आवश्यक औषधी नै नपाइने अवस्था अन्त्य हुनु पर्ने सहभागीहरूको साझा धारणा थियो । त्यसैगरी, प्रतिष्ठानले शिक्षा क्षेत्रमा हासिल गरेको प्रगतिप्रति धन्यवाद व्यक्त गर्दै सेवा क्षेत्रलाई अझ सुदृढ बनाउन सुझाव दिईएको छ । विशेषगरी कोरोना महामारीका बेला प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीहरूले संकटको समयमा देखाएको सक्रियता आगामी दिनमा पनि कायम राख्न आग्रह गरेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. पुजन कुमार रोकायाले छलफलबाट आएका सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सेवालाई थप परिमार्जन गर्दै व्यवस्थित र प्रभावकारी बनाउने दिशामा काम अगाडि बढाइने उहाँको भनाइ छ । उपकुलपति रोकायाका अनुसार विगत तीन वर्षको अवधिमा प्रतिष्ठानले सामाजिक सेवा इकाईमार्फत २९ लाख ९० हजार १ सय ३९ रुपैयाँ बराबरको सेवा प्रवाह गरेको छ ।
यसले विपन्न तथा असहाय बिरामीलाई उपचारमा राहत पु¥याएको बताइएको छ । सर्वपक्षीय छलफलबाट उठेका विषयवस्तु कार्यान्वयनमा आएमा प्रतिष्ठानको सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । स्थानीय तह, राजनीतिक दल, सरोकारवाला र अन्य सरोकारवालाको सहभागिताले स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

