माघ २३ जुम्ला
जुम्लाको पातारासी गाउँपालिकामा सञ्चालित सुमात्रा परियोजनाको सामाजिक परीक्षण गरिएको छ । शुक्रबार आयोजित सामाजिक परीक्षण कार्यक्रममा परियोजनाले दुई वर्षभन्दा बढी अवधिमा गरेका गतिविधि, उपलब्धि र आगामी प्राथमिकताबारे समीक्षा गरिएको हो । किर्डाक नेपाल जुम्लाका क्षमता अभिवृद्धि विशेषज्ञ श्रीवहादुर भण्डारीका अनुसार साढे दुई वर्षसम्म सञ्चालन भएको परियोजनामा ८० लाख ५० हजार रुपैयाँ खर्च भएको बताउनु भयो । परियोजना मार्फत १ हजार ८ सय ७५ जनासँग प्रत्यक्ष रूपमा काम गरिएको उहाँले जानकारी दिनुभयो ।

क्षमता विकास, नीति निर्माणमा सहयोग तथा पानीका मुहान संरक्षणलाई केन्द्रमा राखेर परियोजना सञ्चालन गरिएको भण्डारीको भनाइ छ । परियोजनाले जलस्रोत तथा प्राकृतिक स्रोतको दीगो संरक्षणलाई मुख्य उद्देश्य बनाएर काम गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा परियोजना पुनः सञ्चालन हुने अवस्था आएमा भौतिक पूर्वाधार निर्माणमा समेत जोड दिन सकिने बताउनु भयो । कार्यक्रममा पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले क्षमता विकास सम्बन्धी काम सम्पन्न भइसकेकाले अब खानेपानीको समस्या भएका बस्तीमा संरचना निर्माणतर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

गाउँपालिकाभित्र खानेपानी अभाव रहेका गाउँमा प्राथमिकताका आधारमा संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । यस्तै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बुढथापाले क्षमता विकास बिना भौतिक संरचना मात्र निर्माण गर्दा संरक्षण नहुने धारणा राख्नुभयो । प्राकृतिक स्रोत संरक्षणका क्षेत्रमा किर्डाकले पातारासीमा सकारात्मक काम गरेको उल्लेख गर्दै उहाँले उपलब्ध पानीका स्रोतहरुको दर्ता र संरक्षणमा जोड दिनुपर्ने बताउनु भयो ।

नेदरल्याण्ड सरकारको सहयोग, पातारासी गाउँपालिकाको समन्वय, मध्यपश्चिम विश्वविद्यालयको साझेदारी तथा किर्डाक नेपाल जुम्लाको प्राविधिक सहयोगमा सन् २०२३ देखि सुमात्रा परियोजना सञ्चालन भएको थियो । हाल परियोजना समापनको चरणमा पुगेको छ । परियोजना अन्तर्गत क्षमता विकास, नीति निर्माणमा सहयोग, वकालत तथा जलकचहरी सञ्चालनलगायतका गतिविधि गरिएको परियोजना अधिकृत विनु चित्रकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति तथा जनप्रतिनिधिहरुको क्षमता विकासमा परियोजनाले महत्वपूर्ण सहयोग पु¥याएको छ । साथै खानेपानी तथा सरसफाइ नीतिको निर्माण प्रक्रियामा समेत परियोजनाको भूमिका रहेको उहाँले बताउनुभयो । पातारासी गाउँपालिकामा रहेका ४ सय ९५ वटा पानीका मुलमध्ये हाल १ सय ३८ वटा मात्र प्रयोगमा रहेको तथ्य सार्वजनिक गरिएको छ ।

डोजरको प्रयोगका कारण पानीका मुहान सुक्ने तथा पहिरोको जोखिम बढ्दै गएको भन्दै प्राकृतिक स्रोत संरक्षणमा दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

Share.

Leave A Reply

Exit mobile version