माघ १८ जुम्ला
नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश भण्डारीले सिँजा सभ्यता विधेयक कानुनका रूपमा अघि बढेकाले जुम्लालाई सांस्कृतिक राजधानी बनाउने आधार तयार भएको बताउनु भएको छ । जुम्लामा आयोजित निर्वाचन परिचालन समितिको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले तथ्य र तथ्यांकका आधारमा जुम्लालाई सांस्कृतिक राजधानी घोषणा गर्न संसदमा बहस सुरु गर्ने बताउनु भयो ।
सिँजा सभ्यता विधेयक पारित भएमा सांस्कृतिक राजधानीको ढोका खुल्ने दाबी गर्दै भण्डारीले कर्णाली भाषा, संस्कृति र सभ्यताका हिसाबले अग्रस्थानमा रहेकाले जुम्ला सांस्कृतिक राजधानीका लागि उपयुक्त रहेको बताउनु भयो । देशको प्रशासनिक र राजनीतिक राजधानी काठमाण्डौँ हुन सक्छ भने जुम्ला किन सांस्कृतिक राजधानी हुन सक्दैन ? भन्दै उहाँले यस विषयमा राष्ट्रिय बहसको आवश्यकता औँल्याउनु भयो ।
नेपाली भाषाको जननी भुमिमा सांस्कृतिक राजधानी घोषणा गराउन आफु निर्वाचित भए संसदमा यसलाई बहसको विषय बनाउने उहाँको भनाइ छ । यद्यपि, यसै विषयमा मत नमाग्ने उहाँले स्पष्ट पार्नु भयो । भण्डारीले सिँजा क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्ने, सिँजा बहुमुखी क्याम्पसलाई स्तरवृद्धि गर्दै आंगिक क्याम्पसका रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै तिला गाउँपालिकामा दुर्घटनामा परेको ७२ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनालाई पुनः अघि बढाउने बताउनु भयो ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि जुम्लालाई समृद्धिको बाटोमा लैजाने दाबी गर्दै उहाँले पछिल्ला समय सामाजिक सञ्जालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना कसले ग¥यो भन्ने विषयमा प्रमाण प्रस्तुत गर्न चुनौती दिनु भयो । जुम्लाको विकासमा अरु कसैले अगुवाइ गरेको भए देखाउन समेत उहाँले चुनौती दिनु भयो । जुम्लामा गरिएको काम र आगामी दिनमा गर्ने योजनाका विषयमा खुला छलफलका लागि अन्य उम्मेदवारलाई उहाँले आह्वान समेत गर्नु भएको छ ।
यसैबीच, नेपाली कम्युनिष्ट पार्टीले १ हजार ९ सय ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । पूर्व राज्यमन्त्री तथा पार्टीका जुम्ला इन्चार्ज गोमा गौतम (कुँवर) को संयोजकत्वमा समिति गठन गरिएको हो । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान स्थलसम्मको अवस्थालाई मध्यनजर गरी समिति गठन गरिएको संयोजक गौतमले बताउनु भयो । गौतमले यसपटकको निर्वाचन नेकपाको पक्षमा हुने दाबी गर्दै अन्य उम्मेदवारले भ्रम सिर्जना गरेको आरोप लगाउनु भयो । निर्वाचन निष्पक्ष र भयरहित भए नेकपाले प्रतिनिधि सभा सदस्यमा विजय हासिल गर्ने उहाँको भनाइ छ ।

