जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा आन्दोलित पक्षले सोमबार राति करिब १२ बजेतिर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। गाउँपालिका कार्यालयसहित शिक्षा, स्वास्थ्य, कृषि र वित्तीय प्रशासन शाखामा पनि एकैसाथ तालाबन्दी गरिएको स्थानीयहरूले बताएका छन्।
आन्दोलनरत पक्षले गाउँपालिकाले आफूहरूले पटक–पटक अघि सारेका मागलाई बेवास्ता गरेको र समाधानको पहल नगरेको आरोप लगाउँदै अन्ततः तालाबन्दी गर्ने निर्णयमा पुगेका हुन्। उनीहरूले तालाबन्दीलाई ‘न्याय प्राप्तिका लागि बाध्यतापूर्ण कदम’ भनेका छन्।
आन्दोलनकारीहरूले विशेष गरी गाउँपालिकाले वितरण गर्ने सेवा–सुविधा पारदर्शी ढंगले नहुँदा स्थानीयले अन्याय व्यहोर्नुपरेको, बजेट र योजनामा सार्वजनिक सुनुवाइ नहुने, शिक्षक नियुक्ति तथा शैक्षिक क्षेत्रमा देखिएको अनियमितता अन्त्य गर्नुपर्ने, आधारभूत सेवा सरल र सहज बनाउनुपर्ने लगायतका माग अघि सारेका छन्।
तालाबन्दीका कारण आज बिहानदेखि दैनिक प्रशासनिक काम ठप्प भएको छ। सेवा लिन बिहानैदेखि कार्यालय पुगेका सर्वसाधारण कार्यालय बन्द देखेपछि निराश भएर फर्कनुपरेको बताएका छन्। यस विषयमा गाउँपालिका अध्यक्ष वा प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा प्रतिक्रिया प्राप्त हुन सकेको छैन। गाउँपालिकाको पक्षबाट आधिकारिक विज्ञप्ति पनि जारी भएको छैन।
तालाबन्दी लामो समयसम्म जारी रहे गाउँपालिकाका विकास योजनामा ढिलाइ हुने, विद्यालय र स्वास्थ्य क्षेत्रमा असर पर्ने र सेवाग्राही झन् समस्यामा पर्ने देखिएको छ। स्थानीय बुद्धिजीवीहरूले भने संवादमार्फत समाधान खोज्न नेतृत्वलाई आग्रह गरेका छन्।

