जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा पहिलो पटक स्ववियू कप नामक खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को अगुवाइमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता आगामी वैशाख ९ गतेदेखि सुरु गरिने तयारी गरिएको छ।
पत्रकार सम्मेलनमार्फत आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै युवाहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई अझ बलियो बनाउनु रहेको छ। स्ववियू अध्यक्ष लोकेन्द्रराज बुढाले क्याम्पसको पहिचान विस्तारमा समेत यस प्रतियोगिताले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। विजेताले १ लाख १ हजार १०१ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार १०१ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। साथै प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषणा गरिनेछ।जिल्लाभरिका आठवटै स्थानीय तह तथा विद्यालयहरूले सहभागिता जनाउन सक्नेछन्। आयोजकले टिम दर्ता शुल्क १० हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ
कार्यक्रम सञ्चालनका लागि करिब ३ देखि ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिता सफल बनाउन स्ववियूका पदाधिकारीहरूलाई विभिन्न जिम्मेवारी समेत दिइएको छ।

