जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। बुधबार दिउँसो करिब साढे २ बजे जुम्लाबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाडाचक्र नगरपालिका–२ मेयरखोलामा दुर्घटनामा परेको हो।
दुर्घटनामा हिमा गाउँपालिका–६ का ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ का २६ वर्षीय चालक शक्ति बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा सवार अन्य दुई जना घाइते भएका छन्। घाइतेमध्ये ७१ वर्षीय बिरामी कल बहादुर अधिकारीको खुट्टामा चोट लागेको छ भने २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको छ।
दुवै घाइतेको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हिमबहादुर खत्रीका अनुसार बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। एम्बुलेन्स सडकबाट झण्डै २५ मिटर तल खसेको थियो।
उक्त एम्बुलेन्सले सुगर र प्रोस्टेटसम्बन्धी समस्या भएका बिरामी कल बहादुर अधिकारीलाई नेपालगन्ज रेफर गर्दै लगिरहेको थियो। उनी चैत २० गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचाररत थिए।

