जुम्ला । ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नारासहित ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस जुम्लामा विभिन्न कार्यक्रमहरू गरी भव्य र सम्मानजनक वातावरणमा मनाइएको छ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशितालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइन्छ।
अम्बिका मल्ल : “अपाङ्गता भएका व्यक्तिका अधिकारको पहुँच सुनिश्चित गर्नैपर्छ” कार्यक्रममा महिला तथा बालबालिका शाखाकी प्रतिनिधि अम्बिका मल्लले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सेवासुविधा सुनिश्चित गर्न स्थानीय तह, समुदाय र परिवार सबै समान रूपमा जिम्मेवार रहेको बताइन्
उनले नौवटै वडामा समावेशीतामूलक सेवा विस्तारका लागि सक्रिय प्रयास भइरहेको जानकारी गराइन्।
अपाङ्गता संजाल जुम्लाका अध्यक्ष यज्ञ बुढाथापा : “अधिकार प्राप्ति बुझ्न स्वयं सचेत हुनुपर्छ” जुम्ला अपाङ्गता संजालका अध्यक्ष यज्ञ बुढाथापाले अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक र अधिकार कसरी प्राप्त गर्ने भन्ने विषयमा अझै गहिरो जानकारी आवश्यक रहेको बताए।उनका अनुसार अधिकारका लागि आवाज उठाउने, कागजी प्रक्रिया बुझ्ने र नगरपालिका तथा वडासँग निरन्तर समन्वय राख्नु जरुरी छ।
कार्यवाहक मेयर रबि बहादुर थापा : “नगरपालिका अपाङ्गता मैत्री सेवामा प्रतिबद्ध”चन्दननाथ नगरपालिकाका कार्यवाहक मेयर रबि बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरूका लागि नगरपालिकाले उपलब्ध गराइरहेका सेवासुविधाबारे जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने बताए। वडा नं. ५ अध्यक्ष बिख बहादुर काकी : “वडाले आफ्नो वडाका अपाङ्गलाई प्राथमिकता दिनुपर्छ”
वडा नं. ५ का अध्यक्ष बिख बहादुर काकीले निश्चित व्यक्तिलाई मात्र होइन, वडामा रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई माया, सम्मान र सहयोग आवश्यक रहेको बताए। उनले भने, “अपाङ्गता भएका व्यक्तिले आफ्नो हक र सेवा प्राप्त गर्न वडाको ढोका आफैँ घच्घचाएर माग गर्न पनि नहिच्किनुपर्छ।” अपाङ्गता सदस्य कमला सेजुवाल : “अपाङ्गता जन्मजात मात्र होइन, कहिल्यै पनि हुन सक्छ”
चन्दननाथ नगरपालिका अपाङ्गता सदस्य कमला सेजुवालले अपाङ्गता जन्मजात मात्र नभई विभिन्न परिस्थितिमा कहिल्यै पनि हुन सक्ने भएकाले समाजले अपाङ्गता भएका व्यक्तिलाई हेला होइन, माया–ममता र सम्मान दिनुपर्ने बताइन्।उनी भन्छिन्, “अपाङ्गता भएका व्यक्तिले पनि सबल व्यक्तिहरू सरह काम गर्न सक्छन्, त्यसैले सामाजिक व्यवहार, पहुँच र सेवामा समानता अनिवार्य छ।”
न्यानो कपडा वितरण — ५० हजार बराबरको सहयोग दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत महिला ज्याकेट, टाउजर, मोजा, हुडी सेट लगायतका न्यानो कपडाहरू वितरण गरिएको थियो। जुम्लाको कठोर जाडो मौसमलाई लक्ष्य गर्दै गरिएको यो सहयोगको कुल मूल्य ५०,००० रुपैयाँ बराबर रहेको आयोजकले जानकारी दिएको छ।
वितरणले अपाङ्गता भएका व्यक्तिहरूमा हर्ष र राहतको अनुभूति भएको सहभागीहरूले बताएका छन्।

