सामाजिक सञ्जाल दर्ता (सूचीकरण) प्रक्रियालाई अघि बढाउन मेटा (Facebook, Instagram, WhatsApp, Messenger, Threads) नेपाल सरकारसँग प्रत्यक्ष सम्पर्कमा आएको छ। कम्पनीले नेपालमा दर्ता गर्न आवश्यक कागजात र प्रक्रिया सम्बन्धी विवरण माग गरेको मन्त्रालय स्रोतले जनाएको छ।
नेपाल सरकारले २०८० सालमा लागू गरेको सामाजिक सञ्जाल सूचीकरण निर्देशिका अनुसार नेपालभित्र सञ्चालन हुने सबै डिजिटल प्लेटफर्मले दर्ता वा सूचीकरण अनिवार्य गर्नुपर्ने व्यवस्था छ। सो निर्देशिकाअनुसार नेपालमा प्रतिनिधि तोक्नुपर्ने, गुनासो सुन्ने अधिकारी नियुक्त गर्नुपर्ने, स्व–नियमन अधिकारी राख्नुपर्ने र प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गर्नुपर्ने प्रावधान छ।
हालसम्म TikTok र Viber मात्र नेपालमा सूचीकरण प्रक्रियामा सहभागी भएका छन्। तर, नेपालमा सबैभन्दा बढी प्रयोग हुने मेटा अन्तर्गतका प्लेटफर्महरू भने अझै सूचीकरणमा आएका थिएनन्। मेटाले हालै मन्त्रालयलाई पत्राचार गर्दै दर्ताका लागि मागिने कागजातहरूको औपचारिक सूची पठाउन आग्रह गरेको हो।
मन्त्रालयले भने छलफल प्रक्रिया जारी रहेको र छिट्टै प्राविधिक तथा कानुनी ढाँचा मिलाएर आवश्यक जानकारी उपलब्ध गराइने जनाएको छ। यससँगै, नेपालमा फेसबुकसहित मेटाका अन्य सेवाहरूको औपचारिक सूचीकरण प्रक्रिया अब छिट्टै अघि बढ्ने सम्भावना देखिएको छ।

