साउन ११ गते
जुम्ला पातारासी गाउँपालिका–६ मा आईतबार बिहान ग्यास चुलोको प्रयोगका क्रममा भएको आगलागीमा एक घरका दुई तला पूर्ण रूपमा जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान करिब ६ः३० बजे अन्दाजि ३६ विर्षय रणु महताराको तिनतले कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा एक्कासी आगो सल्किएको थियो ।
आगलागीले घरको दोस्रो र तेस्रो तलामा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी पोस्ट उर्थुचौताराले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन् । घटनाको जानकारी बिहान ८ः३० बजे टेलिफोन मार्फत इलाका प्रहरी चौकि उर्थु्रचौतारामा प्राप्त भएको हो । सोही सूचनाको आधारमा प्रहरी हवल्दार मनोजराज गिरीको नेतृत्वमा तीन जना प्रहरी टोली खटिएको थियो ।
उक्त घर प्रहरी चौकीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्ने स्थानमा अवस्थित रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार आगो हाल पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ । स्थानीयवासीका अनुसार कच्ची घरमा टिनको छाना भएकाले आगोले तीव्र गतिमा फैलिएको थियो । आगलागीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ ।

