माघ २२ जुम्ला
नेकपा एमाले जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी बाचा–पत्र सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत जुम्लामा प्रतिस्पर्धामा रहेका दश जना उम्मेदवारमध्ये पहिलो दलका रूपमा एमालेले चुनावी बाचा–पत्र सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको बाचा–पत्रमा जुम्लाको सडक तथा पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा विस्तार तथा विद्युत विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

सिँजा क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने, झण्डै २० मेगावाट विद्युत उत्पादन गर्ने तथा कृषि क्षेत्रको आधुनिकीकरण मार्फत उत्पादन र बजारीकरणमा सुधार गर्ने योजना अघि सारिएको छ । सडक पूर्वाधारतर्फ मुख्य राजमार्गसँग जोडिएका आठै पालिकाका ग्रामीण सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने, कर्णाली राजमार्गलाई दुई लेनको बनाउने, पातारासी–डोल्पो–नाक्चे लाग्ना सडक निर्माण सम्पन्न गर्ने, जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ सडक तथा छिन्चु–जाजरकोट–टोप्ला–जुम्ला सडक निर्माण सम्पन्न गर्ने लक्ष्य बाचापत्रमा उल्लेख गरिएको छ ।

कृषि क्षेत्रतर्फ उत्पादन वृद्धि, बजारीकरण व्यवस्थापन तथा “एक पालिका एक संकलन केन्द्र” स्थापना गर्ने योजना अघि सारेको छ । त्यसैगरी सिँजा क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन स्याटेलाइट अस्पताल निर्माणलाई प्राथमिकतामा राखिएको छ । विद्युत विकासतर्फ “जुम्लाको पानी, राज्यको लगानी” भन्ने नारासहित गिडिदह क्षेत्रबाट बग्ने जलाधारको उपयोग गरी करिब २० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको एमालेले जनाएको छ ।

एमालेका उम्मेदवार शान्तिलाल महतले महत्वाकांक्षी योजना भन्दा कार्यान्वयनयोग्य र उपलब्ध स्रोत–साधनले सम्भव हुने योजनालाई प्राथमिकता दिइएको बताउनु भयो । उहाँका अनुसार जुम्लाको विकास र समृद्धिका लागि स्वास्थ्य र शिक्षामा सुधार, रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइनेछ । जुम्लाको जल, जमिन, जडीबुटी र जंगलको संरक्षण तथा प्रवद्र्धनमार्फत आयआर्जन वृद्धि गर्ने लक्ष्य समेत बाचापत्रमा उल्लेख गरिएको छ ।

 

Share.

Leave A Reply

Exit mobile version