फागुन २१ जुम्ला ।
जुम्लामा ५६.८९ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार ७१ हजार ७ सय ३९ मतदातामध्ये ४१ हजार २ सय १० मत खसेको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनु भयो । जसमा महिला तर्फ २१ हजार १ सय ४६ र पुरुष तर्फ २० हजार ६४ जनाले मतदान गरेका छन् । पुरुष भन्दा महिला १ हजार ८२ जना बढीले मतदान गरेका छन् ।
यस्तै अस्थायी खाद्य व्यवस्था तथा व्यापार कम्पनि मतदान केन्द्रमा १ सय २ जनाले समानुपातिक तर्फ मतदान गरेका छन् । यसैबिच, प्रतिनिधि सभा सदस्यको निर्वाचन जुम्लामा शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न भएको छ । जुम्लामा रहेका आठवटा स्थानीय तहका १ सय १० वटा मतदान केन्द्र र ८५ वटा मतदान स्थलमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै बिहान मतदान सुरु भई साँझ पाँच बजेसम्म मतदाताले शान्त, मर्यादित र भयरहित वातावरणमा मतदान गरेका छन् । जुम्लामा मतदाताहरूले उत्साहका साथ मतदान गरेको पन्तले बताउनु भयो । उहाँका अनुसार साँझ पाँच बजेसम्म मतदान केन्द्रमा लाइनमा बसेका मतदातालाई भने मतदान गर्न दिइएको बताउनु भयो । यस कारण कतिपय स्थानमा तोकिएको समयपछि पनि मतदान प्रक्रिया जारी रहेको थियो ।
यसैबीच जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गरेर सदरमुकाम ल्याउन केही समय लाग्ने बताउनु भयो । उहाँका अनुसार विभिन्न दुर्गम गाउँबाट मतपेटिका ल्याउन करिब ५ देखि ६ घण्टासम्म समय लाग्ने अनुमान गरिएको बताउनु भयो । जिल्लाका दुर्गम तथा भौगोलिक रूपमा कठिन ठाउँबाट मतपेटिका ल्याउने कार्य सुरक्षाकर्मी तथा कर्मचारीको समन्वयमा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका सबै ठाउँबाट मतपेटिका जुम्लामा पुगेपछि शुक्ररबा विहान सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

