जुम्लामा एक ज्येष्ठ नागरिक महिलाको शंकास्पद मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडा निवासी ७० वर्षीया महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा फेला परेपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार उनलाई बिहान ८:१० बजे अस्पताल पुर्याइएको थियो भने ९:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरी निरीक्षक निर्देश बरालका अनुसार मृतकको टाउको र आँखामा गम्भीर चोटपटक देखिएको छ।
आफन्तका अनुसार उनको टाउकोमा धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको आशंका गरिएको छ। घटना चैत ७ गते घरमै भएको र छिमेकीले थाहा पाएपछि मात्र बाहिर आएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा टोली घटनास्थल खटिएको छ। प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनी कारबाही गरिने बताएका छन्।

